एनआरएनए विश्व सम्मेलन : प्रवासी नेपालीलाई नेपालमा लगानी बढाउन आह्वान
News Desk
Mar-15 तारिख 10:50 बिहान

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा नेपालमा लगानीको वातावरण क्रमशः अनुकूल बन्दै गएको उल्लेख गर्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रवासी नेपालीलाई लगानी बढाउन आह्वान गरिएको छ।

सम्मेलनमा सहभागी उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासिलो लगानी वातावरण र प्रभावकारी संस्थागत संयन्त्र निर्माण गर्न सके विदेशमा रहेका नेपालीको लगानी उल्लेखनीय रूपमा बढ्न सक्ने धारणा व्यक्त गरेका छन्।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको विश्वसनीय आधार तयार गर्न सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। विगतमा सरकारको अस्थिरताका कारण नीतिगत एकरूपतामा केही समस्या देखिए पनि अब स्थिर सरकार बन्ने संकेत देखिएकाले लगानीकर्तामा आत्मविश्वास बढ्ने उहाँको भनाइ थियो। लगानी सहजीकरणका लागि बोर्ड प्रतिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकाससँग जोड्ने रणनीति आवश्यक रहेको बताउनुभयो। उहाँले सुरक्षित लगानी वातावरण, पर्याप्त बजार र विश्वासको आधार तयार गर्न सके प्रवासी लगानी बढ्न सक्नेमा जोड दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा राजनीतिक स्थिरताको वातावरण बन्न थालेको उल्लेख गर्दै नीतिगत सुधारमार्फत प्रवासी नेपालीसँग सहकार्य गरी लगानी भित्र्याउन निजी क्षेत्र तयार रहेको बताउनुभयो।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा विस्तार गर्न एनआरएनको लगानी महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व र विश्वासको वातावरण बिना विदेशी तथा गैरआवासीय लगानी आकर्षित गर्न कठिन हुने उल्लेख गर्दै यसका लागि संस्थागत संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै प्रवासी नेपालीलाई नेपालमै लगानी गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो।

यसैबीच सम्मेलनअन्तर्गत आयोजित ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व’ विषयक सत्रमा वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङले संस्कृतिको संरक्षण पुस्तान्तरणबाट सम्भव हुने उल्लेख गर्दै विदेशमा जन्मेका नेपाली सन्ततिलाई भाषा र संस्कृतिसँग जोड्नु आवश्यक रहेको बताउनुभयो।

संस्कृतिविद प्रा.डा. वीणा पौडेलले भाषा, कला तथा चाडपर्वमार्फत संस्कृति जोगाउन सकिने धारणा राख्नुभयो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले प्रवासमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न सांस्कृतिक पर्यटनको प्रवर्द्धन महत्वपूर्ण हुने बताउनुभयो। एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले भाषा शिक्षा, सांस्कृतिक कार्यक्रम र खेलकुदजस्ता गतिविधिले युवालाई नेपालसँग जोड्न सहयोग गर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासी नेपालीको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्न नीतिगत सुधार, सहकार्य र विश्वासको वातावरण निर्माण अपरिहार्य रहेकोमा जोड दिएका थिए।

धेरै पढिएको