सार्वजनिक बिदामा पनि हुलाक सेवा: विदेशबाट आउने–जाने सामान अब सहज
News Desk
Apr-03 तारिख 06:51 बिहान • आज

काठमाडौँ  अब सार्वजनिक बिदाका दिनसमेत हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउन र विदेशबाट आएका वस्तु सहज रूपमा छुटाउन सकिने व्यवस्था गर्न पहल गरिएको छ। डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयले पहिलेदेखि नै बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँ रहेको भन्सार शाखा र बैंक नखुल्दा सेवाग्राहीले जाँचपासमा कठिनाइ भोग्दै आएका थिए।

यस समस्यालाई समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो देखाएपछि सम्बन्धित निकायहरूबीच समन्वय सुरु गरिएको हो। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग सहकार्य गर्दै बिदाका दिन पनि सेवा निरन्तर सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार, अन्तरराष्ट्रिय कुरियर तथा हुलाक सेवा बिदामा पनि उपलब्ध भए पनि भन्सार शाखा बन्द हुँदा सेवा प्रभावकारी बन्न सकेको थिएन। अब भन्सार विभागसँगको समन्वयपछि उक्त समस्या समाधानतर्फ उन्मुख भएको छ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदामा समेत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै, राजस्व भुक्तानीका लागि त्यहाँ रहेको बैंक शाखा—विशेषगरी राष्ट्रिय वाणिज्य बैंक—लाई पनि बिदामा खुला राख्ने पहल अघि बढाइएको छ।

कार्यालयका अनुसार, गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पार्सल, चिट्ठी तथा विभिन्न प्रकारका हुलाक सामग्री विदेशबाट आएका थिए भने करिब ११ हजार ७०० सामग्री विदेश पठाइएका थिए। यस अवधिमा करिब २९ लाख रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन भएको छ।

अब बिदाका दिन पनि सबै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहजता बढ्ने मात्र होइन, कार्यालयको कार्यक्षमता र राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको