पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ पुग्यो
News Desk
Apr-03 तारिख 12:57 बेलुका

काठमाडौं - नेपाल आयल निगम ले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। एक साताअघि मात्रै मूल्य समायोजन गरेको निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ कायम गरिएको छ। यससँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ।

निगमले क्षेत्रअनुसार मूल्य वर्गीकरण गर्दै पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई समेटेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन्। तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन्।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेका कारण आन्तरिक बजारमा पनि मूल्य समायोजन गर्न बाध्य हुनुपरेको हो। Indian Oil Corporation बाट मार्च १६ र ३१ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४७ रुपैयाँ १२ पैसा, डिजेलमा १३३ रुपैयाँ ४५ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको जनाएको छ।

निगमले हालको अवस्थामा मूल्य समायोजन गर्न नसक्दा पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको बताएको छ। घाटा निरन्तर बढ्दै जाँदा आपूर्तिकर्तालाई भुक्तानी गर्न कठिनाइ भइरहेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो।

धेरै पढिएको