महासंघ निर्वाचनमा शोभा ज्ञवालीको उपस्थिति: अनुभवी नेतृत्वसहित बलियो टिमको दाबी
News Desk
Apr-09 तारिख 06:54 बिहान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को आगामी साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा एशोसिएटतर्फ कार्यकारिणी सदस्य पदमा शोभा ज्ञवाली को उम्मेदवारीले विशेष चर्चा पाएको छ। लामो समयदेखि निजी क्षेत्र, महिला उद्यमशीलता तथा संस्थागत नेतृत्वमा सक्रिय रहँदै आएकी ज्ञवाली यस पटक पनि सशक्त उपस्थितिसहित चुनावी मैदानमा उत्रिनुभएको हो।

बहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकाल को स्पष्ट समर्थन रहेको यस टिममा वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्ष हेमराज ढकाल तथा एशोसिएट उपाध्यक्षका लागि हालकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ ले उम्मेदवारी दिनुभएको छ। महासंघका वर्तमान विशिष्ट पदाधिकारीहरू नै खुला रूपमा यस समूहको पक्षमा उभिएका कारण यो टिमलाई निर्वाचनको बलियो दाबेदारका रूपमा हेरिएको छ।

यसै टिमबाट सदस्य पदमा उम्मेदवारी दिएकी ज्ञवाली निजी क्षेत्रको परिचित र विश्वासिलो नाम हो। उहाँ नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष, महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष, नेपाल–फिलिपिन्स चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीकी निवर्तमान अध्यक्ष, महासंघकी केन्द्रीय सदस्य लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा सक्रिय भूमिका निर्वाह गरिसक्नुभएको छ। त्यसका साथै महिला मेडिकल, वैज्ञानिक तथा अन्य पेशागत संस्थाहरूमा सल्लाहकारका रूपमा समेत उहाँको सक्रिय योगदान रहँदै आएको छ।

सिर्जनशील व्यक्तित्वका रूपमा चिनिनुहुने ज्ञवाली साहित्य क्षेत्रमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ। ‘सम्पूर्ण आकाश’, ‘संघर्ष’ जस्ता कृतिमार्फत उहाँले समाजका विविध आयामलाई उजागर गर्नुभएको छ भने विभिन्न सञ्चारमाध्यममार्फत विचार, अन्तर्वार्ता र विश्लेषण प्रस्तुत गर्दै सार्वजनिक बहसमा निरन्तर सक्रिय रहनुभएको छ।

महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासका क्षेत्रमा लामो अनुभव बटुलेकी ज्ञवालीको उम्मेदवारीले महासंघमा अझ सन्तुलित, समावेशी र दूरदर्शी नेतृत्वको अपेक्षा गरिएको छ। निजी क्षेत्रको मजबुती, स्वदेशी उत्पादनको प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचान स्थापित गर्ने अभियानमा उहाँले प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

अनुभवी नेतृत्व, स्पष्ट दृष्टिकोण र बलियो टिमको साथले सजिएको यस समूहले महासंघको आगामी नेतृत्वमा नयाँ ऊर्जा र परिणाममुखी कार्यशैली ल्याउने अपेक्षा गरिएको छ। त्यसमा पनि शोभा ज्ञवालीजस्तो स्थापित र बहुआयामिक व्यक्तित्वको उपस्थितिले यस टिमलाई अझ विश्वसनीय र प्रभावशाली बनाएको विश्लेषकहरूको धारणा छ।
 

धेरै पढिएको