निर्माण उद्योग संकटमा,तत्काल समाधान खोज्न सरकारलाई महासंघका महासचिव वाईबाको आग्रह
News Desk
Apr-11 तारिख 09:06 बिहान

काठमाडौं ,बागमती प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा अभूतपूर्व संकट देखा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा इन्धन तथा निर्माण सामग्रीमा भएको निरन्तर मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको स्पष्ट पारेको छ।
महासंघका महासचिव चन्द्र कुमार वाईबाले वर्तमान अवस्था “निर्माण उद्योगका लागि आपतकालीन परिस्थिति” सरह भएको बताएका छन । उनले डिजेल, पेट्रोल, मट्टितेलसँगै सिमेन्ट, डण्डी, बिटुमिनजस्ता अत्यावश्यक सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले निर्माण व्यवसायीहरू गम्भीर संकटमा परेको उल्लेख गरे।
वाईबाका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको असर सिधै निर्माण क्षेत्रमा परेको छ, तर त्यसअनुसार राज्यले मूल्य समायोजन तथा राहतका कदम चाल्न सकेको छैन। “काम भइरहेका आयोजनाहरूमा लागत आकस्मिक रूपमा बढेको छ, तर ठेक्का मूल्य यथावत हुँदा व्यवसायीहरू ठूलो घाटामा गइरहेका छन्,” उनले स्पष्ट पारे।
उनले थपे, राष्ट्र बैंकको विनिमय दरअनुसार बजार मूल्य समायोजन नहुँदा निर्माण सामग्री महँगिएको र त्यसले सम्पूर्ण परियोजनालाई प्रभावित बनाएको छ। देशभर निर्माण क्षेत्रमा देखिएको समस्या झनै गम्भीर बन्दै गएको उनको भनाइ छ।
महासंघले सरकारसँग तत्काल ‘मूल्य समायोजन मार्गनिर्देशन–२’ लागू गर्न, सबै अवधिका ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न र निर्माण उद्योगलाई राहत दिने विशेष नीति ल्याउन माग गरेको छ।
वाईबाले सरकारलाई चेतावनी दिँदै भनेका छन्, “यदि तत्काल निर्णय नलिए निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने जोखिम छ, जसले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्नेछ।”
निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै वाईबाले अब सरकारबाट ठोस निर्णय आवश्यक रहेको बताएका छन्।

धेरै पढिएको