News Desk
काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम” शनिबार ककनीमा सम्पन्न भएको छ। ग्लोरी मिडिया तथा न्युजलाईन्स मिडियाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सेफ, व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको आर्थिक तथा पर्यटन सम्भावनामा जोड दिँदै भन्नुभयो, “नेपालको पर्यटन प्रवर्द्धनमा स्थानीय खानाको महत्वपूर्ण भूमिका छ। यदि सही ढंगले ब्रान्डिङ गर्न सकियो भने यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ।” उहाँले घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन सेफमार्फत ज्ञान र सीप विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो। साथै, स्थानीय खाद्य परम्पराको संरक्षण, स्वास्थ्यकर भोजनको प्रवर्द्धन तथा पर्यटनसँग यसको अन्तरसम्बन्धलाई कार्यक्रमले प्रभावकारी रूपमा उजागर गरेको उल्लेख गर्नुभयो।
विशिष्ट अतिथि गैर आवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले प्राकृतिक भोजनको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “प्राकृतिक र रैथाने खाना हाम्रो स्वास्थ्यका लागि अत्यन्त लाभदायक छन्। आधुनिक जीवनशैलीले ल्याएको अस्वस्थ खानाको विकल्पका रूपमा यसलाई अघि बढाउनुपर्छ।” उहाँले यसको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले देशका विभिन्न भूगोलमा फरक–फरक विशेषता बोकेका खानाहरू रहेको उल्लेख गर्दै भन्नुभयो, “हिमाल, पहाड र तराईका खानाले नेपालको सांस्कृतिक विविधता झल्काउँछन्, जसलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकिन्छ।”
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले रैथाने खानाको प्रवर्द्धनले स्थानीय उत्पादन र रोजगारीमा टेवा पुर्याउने बताउँदै भन्नुभयो, “यसलाई व्यवस्थित रूपमा अघि बढाउन सकियो भने स्थानीय पाककला क्षेत्रलाई थप उचाइमा पुर्याउन सकिन्छ।”
पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले पर्यटनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै भन्नुभयो, “पर्यटकहरू नयाँ स्वादको खोजीमा हुन्छन्, र हाम्रो रैथाने खाना उनीहरूका लागि आकर्षणको केन्द्र बन्न सक्छ।”
युवा उद्यमी तारालाल धरेलले रैथाने खानाको व्यवसायिक सम्भावनाबारे चर्चा गर्दै भन्नुभयो, “स्थानीय उत्पादनलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दा नयाँ बजार सिर्जना गर्न सकिन्छ, जसले उद्यमशीलताको ढोका खोल्छ।”
रैथाने अभियन्ता तिलक ढकालले रैथाने खानाको स्वास्थ्य पक्षमा जोड दिँदै भन्नुभयो, “रैथाने खानाले शरीरलाई आवश्यक पोषण दिनुका साथै समाजलाई स्वस्थ राख्न महत्वपूर्ण योगदान पुर्याउँछ।”
आयोजक संस्थाका तर्फबाट बोल्दै ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता औंल्याउँदै भन्नुभयो, “हाम्रो मौलिक खाना केवल परिकार मात्र होइन, यो हाम्रो संस्कृति र पहिचान हो। यसको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता हो।” उहाँले सञ्चारमाध्यमले यस अभियानलाई व्यापक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
न्युजलाईन्स मिडियाकी सरिता ढकालले रैथाने खाना तथा प्राकृतिक भोजनसम्बन्धी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “हामी यस अभियानलाई निरन्तरता दिँदै रैथाने खानाको प्रवर्द्धनमा सक्रिय रूपमा लागिरहनेछौं।”
कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो। साथै विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो।
न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने खानाका विभिन्न परिकारहरूको आकर्षक प्रदर्शनी प्रस्तुत गर्नुभएको थियो भने सहभागीहरूलाई प्राकृतिक भोजनको स्वाद चखाइएको थियो।