News Desk
काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवादका बीच संघको केन्द्रीय कार्यालयमा लगाइएको ताला अन्ततः खोलिएको छ । प्रहरी प्रभाग गौशला र संघ कार्यसमितिबीचको समन्वय तथा बैठकपछि ताला खोलिएको हो। अध्यक्ष भुवन सिंह गुरुङको पहलमा बहुमत कार्यसमिति सदस्यहरूको उपस्थितिमा बैठक सुरु भएसँगै संघ पुनः एकतामार्गमा अघि बढेको संकेत देखिएको छ।
केही समयदेखि कार्यसमितिभित्रको असहमति र विवादका कारण संघको नियमित गतिविधि प्रभावित हुँदै आएको थियो। तर अध्यक्ष गुरुङले संयमता अपनाउँदै संवादमार्फत समाधान खोज्ने अडान राखेका छन्। उनका अनुसार १२ सदस्यको सहभागितामा बैठक सम्पन्न भएको छ र यसले व्यवसायी हितका महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकमा अध्यक्ष भुवन सिंह गुरुङ, द्वितीय उपाध्यक्ष देवकुमार खोकाली तथा सदस्यहरू कृष्ण ढकाल, राजकाजी भोलन, सुवर्ण लामा, हिमा गुरुङ, सुमनराज पाण्डे, विधा लक्ष्मी बज्राचार्य, महम्मद जवार्दिन मिया, तिलकबहादुर तामाङ, रविन मेगाली मगर र सविता कुमारी विष्टसहित १२ सदस्यले हस्ताक्षर गरेका छन्।
बैठकले संघको कार्यालयमा लगाइएको ताला खोल्दै नियमित प्रशासनिक तथा संस्थागत काम कारबाही अघि बढाउने, देखिएका विवादहरू संवादमार्फत समाधान गर्ने र संस्थागत प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ। साथै केही सदस्यहरूले दिएको राजीनामाबारे पनि छलफल भएको छ।
संघ कार्यसमितिको बैठकले संघमा ताला लगाउने र उत्शृंखल गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउने निर्णयसमेत गरेको छ। यस विषयमा प्रहरी प्रभाग गौशलाले पनि ताला लगाउने कार्यमा संलग्नलाई आवश्यक कानुनी कारवाही गर्ने प्रष्ट छ।
अध्यक्ष गुरुङले ताला लगाउने जस्ता गतिविधिले संस्थाको एकता, विश्वसनीयता र व्यवसायिक वातावरणमा नकारात्मक असर पार्ने उल्लेख गर्दै यस्तो कार्य दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। “यो जुध्ने समय होइन, एकताबद्ध भएर अगाडि बढ्ने समय हो,” उनले भने।
संघभित्रको पछिल्लो घटनाक्रमबीच प्रहरी समन्वयमा ताला खुल्नु र बहुमतसहित बैठक सुरु हुनु संस्थालाई पुनः स्थिरता, एकता र सक्रियतामा फर्काउने सकारात्मक संकेतका रूपमा हेरिएको छ।
मङ्गलवारनै अध्यक्ष गुरुङले संघका पुर्व अध्यक्षहरुसङ्ग छलफल गरि समस्या समाधानको दिशामा अगाडि बढेका छन ।
बुधबार पुन बैठक बसि समस्या समाधान गरिने संघनिकट स्रोतले बतायो । अन्तत संघको पुरानो कार्यसमिती यथावत हुनेर संघ एकढिक्का भएर अगाडि बढ्ने प्राय निस्चित भएको छ ।