मेची भन्सारद्वारा १३ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन
News Desk
May-02 तारिख 06:25 बिहान

भद्रपुर (झापा) l  मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ। यो रकम वार्षिक लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत मात्र हो, जसले लक्ष्यभन्दा संकलन केही पछाडि रहेको संकेत गर्दछ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस आर्थिक वर्षका लागि कुल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ। चैत महिनामा मात्रै एक अर्ब ६० करोड ६८ लाख ४७ हजार रुपैयाँ राजश्व उठेको छ, जुन सो महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो।

मासिक विवरणअनुसार साउनमा एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा एक अर्ब ३० करोड ८१ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको छ।

त्यसैगरी मङ्सिरमा एक अर्ब ३६ करोड ७४ हजार, पुसमा एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा एक अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजश्व संकलन भएको तथ्याङ्कले देखाएको छ।

समग्रमा, चैतसम्मको प्रगति सन्तोषजनक देखिए पनि वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा संकलन दर थप तीव्र बनाउनु पर्ने देखिन्छ।

धेरै पढिएको