News Desk
काठमाडौं l नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र केही समुहले सडकबाटै नयाँ समिति घोषणा तथा निर्वाचनको हल्ला फैलाएर सिर्जना गर्न खोजिएको विवादलाई संघका अध्यक्ष भुवन सिंह गुरुङ ले “भ्रमपूर्ण, विधानविपरीत र व्यवसायीलाई गुमराहमा पार्ने प्रयास” भएको बताएका छन्।
अध्यक्ष गुरुङले संघको वैधानिक संरचना, विधान र बहुमतको आधारलाई बेवास्ता गर्दै गरिएको कुनै पनि निर्णय व्यवसायीलाई स्वीकार्य नहुने स्पष्ट पारे । “सडक र कोठामा बसेर गरिएको निर्णय संघ र व्यवसायीलाई मान्य हुँदैन। विधानभन्दा माथि कोही हुन सक्दैन,” उनले भने, “केही व्यक्तिहरूले नियोजित रूपमा भ्रम सिर्जना गरेर संघ कब्जा गर्ने प्रयास गरिरहेका छन्, तर सत्य र विधानको जित निश्चित छ।”
उनका अनुसार व्यवसायीहरूले दुई वर्षका लागि स्पष्ट म्यान्डेट दिएर निर्वाचित गरेको वर्तमान कार्यसमिति अहिले पनि पूर्ण रूपमा क्रियाशील छ र व्यवसायिक हकहित, नीतिगत सुधार तथा वैदेशिक रोजगार क्षेत्रका जटिल समस्या समाधानमा केन्द्रित भएर काम गरिरहेको छ। उनले आफू नेतृत्वको २१ सदस्यीय कार्यसमितिमध्ये स्पष्ट १२ सदस्यको बहुमत रहेको बताउदै सम्विधानको अपव्याख्या गरेर कृत्रिम विवाद सिर्जना गर्न खोजिएको आरोप लगाए।
गुरुङले महासचिव महेश बस्नेत माथि यसअघि नै संघको बहुमतले कारबाही गरिसकेको अवस्थामा केही व्यक्तिहरूले चार जना पदाधिकारीको नाममा कार्यसमिति परिवर्तनको भ्रम फैलाएको बताए। संघको आधिकारिक लेटरप्याड तथा हस्ताक्षरसमेत दुरुपयोग गरिएको भन्दै त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाइसकिएको जानकारी पनि उनले दिए।
अध्यक्ष गुरुङले अहिले संघभित्र देखिएको विवाद सामान्य आन्तरिक मतभेद मात्र नभई वैदेशिक रोजगार क्षेत्रलाई पुनः सीमित समूहको नियन्त्रणमा लैजाने प्रयाससँग जोडिएको बताए । विशेषगरी मलेसिया रोजगारीसँग जोडिएको सिन्डिकेट प्रणाली पुनः सक्रिय बनाउन केही समूह चलायमान भएको संकेत गर्दै उनले व्यवसायीहरूलाई भ्रममा नपर्न आग्रह गरे।
“संघ कमजोर बनाउने र व्यवसायीलाई विभाजित गर्ने प्रयास अन्ततः केही सीमित स्वार्थ समूहलाई फाइदा पुर्याउने खेल हो,” गुरुङले भने, “आजको आवश्यकता फुट होइन, एकता हो। व्यवसायीको अधिकार, अस्तित्व र सम्मान जोगाउन सबै एकढिक्का हुनुपर्छ।”
संघ स्रोतका अनुसार अध्यक्ष गुरुङको पक्षमा पूर्व अध्यक्षहरू प्रेम बहादुर कटुवाल र रोहन गुरुङ, सल्लाहकार हरि बहादुर पाण्डे क्षेत्रीलगाएत बरिस्ठ ब्याबसायीहरु रहेका छन । यस्तै द्वितीय उपाध्यक्ष देवकुमार खोकाली लगायत बहुमत सदस्यहरु
कृष्ण ढकाल, राजकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, सुमनराज पाण्डे, विधा लक्ष्मी बज्राचार्य, महम्मद जवार्दिन मिया, तिलकबहादुर तामाङ, रविन मेगाली मगर र सविता कुमारी विष्टसहित १२ सदस्यीय कार्यसमिति गुरुङ पक्षमा
स्पष्ट बहुमतसहित रहेको छ।
यसैबीच संघका पूर्व अध्यक्ष प्रेम कटुवालले अहिलेको परिस्थिति व्यवसायीक अस्तित्वसँग प्रत्यक्ष जोडिएको भन्दै संघलाई विभाजनतर्फ लैजाने कुनै पनि गतिविधि व्यवसायी हितविपरीत हुने चेतावनी दिएका छन्। “अहिले पदको लडाइँ गर्ने समय होइन, व्यवसायीको भविष्य जोगाउने समय हो,” उनले भने, “संघ नै हाम्रो साझा शक्ति हो, यसलाई कमजोर बनाउने छुट कसैलाई छैन।”
त्यस्तै पूर्व अध्यक्ष रोहन गुरुङले पनि संघमा एकताको विकल्प नरहेको स्पष्ट पार्दै आन्तरिक विवाद अन्त्य गरी साझा मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राखे। “हामी फुट्यौं भने राज्यसँग हाम्रो आवाज कमजोर हुन्छ,” उनले भने, “अब सबै पक्ष एक ठाउँमा उभिएर व्यवसायिक हकहितका लागि अघि बढ्नुपर्छ।”
संघका अनुसार वर्तमान कार्यसमितिले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको छ। सेवा शुल्क, नीतिगत सुधार, व्यवसायिक सुरक्षा, श्रमिकमैत्री नीति तथा वैदेशिक रोजगार क्षेत्रको विश्वसनीयता कायम गर्ने विषयमा श्रम तथा अर्थ मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ।
यसैबीच मेडिकल शुल्क बढाउन माग गर्दै दायर गरिएको रिट अदालतले खारेज गरेपछि अध्यक्ष गुरुङले त्यसलाई श्रमिक र व्यवसायी दुवैको हितमा आएको महत्वपूर्ण निर्णयको रूपमा स्वागत गरेका छन्। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि अनावश्यक आर्थिक भार थोपर्ने प्रयास अदालतले अस्वीकार गरेको भन्दै व्यवसायिक क्षेत्र सधैं श्रमिकमैत्री नीतिको पक्षमा उभिने बताए।
“हामी न चुकेका छौं, न बिकेका छौं,” अध्यक्ष गुरुङले भने, “जति संघर्ष गर्नुपरे पनि व्यवसायी र श्रमिकको हकहितका लागि अन्तिमसम्म दृढतापूर्वक उभिनेछौं।” उनले ब्याबसायीलाई अनावश्यक भ्रममा नपर्नसमेत आग्रह गरेका छन ।