News Desk
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार डा। परितोष पौड्यालले सहकारी क्षेत्रको स्थायित्व, सुशासन र डिजिटल रुपान्तरणलाई केन्द्रमा राख्दै आफ्ना ९ प्रतिबद्धता सार्वजनिक गरेका छन् । लामो समयदेखि सहकारी अभियानमा सक्रिय पौड्यालले “सशक्त सहकारी, विश्वसनीय बैंक, समृद्ध नेपाल” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सहकारी क्षेत्र अहिले चुनौती र अवसरको दोबाटोमा उभिएको उल्लेख गर्दै उनले सहकारीप्रति जनविश्वास पुनः मजबुत बनाउन नीतिगत सुधार, पारदर्शिता र उत्तरदायी नेतृत्व आवश्यक रहेको बताए । उनले सहकारीमैत्री नीति, ऐन तथा नियमावली संशोधनका लागि पहल गर्ने र सहकारी क्षेत्रमा स्थिरता कायम गर्न आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
उनले राष्ट्रिय सहकारी बैंकलाई अझ सुदृढ, विश्वसनीय र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्न वित्तीय स्थायित्व तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन् । पारदर्शिता तथा सुशासनलाई आफ्नो नेतृत्वको मुख्य आधार बनाउने उल्लेख गर्दै बैंकको हरेक गतिविधिलाई सदस्यमैत्री र उत्तरदायी बनाइने उनको भनाइ छ ।
युवापुस्तालाई सहकारी अभियानसँग जोड्न विशेष अभियान सञ्चालन गरिने उनले बताएका छन् । नवप्रवर्तन, उद्यमशीलता र आधुनिक बैंकिङ अभ्यासलाई सहकारी क्षेत्रमा भित्र्याएर नयाँ पुस्ताको आकर्षण बढाउने योजना पनि उनले अघि सारेका छन् । साथै सहकारी बैंकिङको डिजिटल रुपान्तरणमार्फत सेवा प्रवाहलाई छिटो, सहज र सुरक्षित बनाइने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
सदस्य संघ–संस्थामैत्री बैंकिङ सेवा विस्तारसँगै शिक्षा, तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरेर सहकारीकर्मीलाई दक्ष बनाइने उनको योजना छ । समस्याग्रस्त तथा समस्याउन्मुख सहकारी संस्थालाई सहजीकरण गर्दै समाधानमुखी नीति अवलम्बन गरिने उल्लेख गर्दै उनले सहकारी क्षेत्रलाई संकटबाट माथि उठाउने अभियानमा आफू दृढ रहेको बताएका छन् ।
बैंकका कर्मचारीको सशक्तीकरण र वृत्तिविकासलाई प्राथमिकतामा राख्ने उनले बताएका छन् । सक्षम कर्मचारी नै संस्थाको मेरुदण्ड हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धि र पेशागत सुरक्षामा विशेष ध्यान दिइने उनको धारणा छ ।
डा पौड्यालले स्वनियमनको मर्म आत्मसात गर्दै सहकारी क्षेत्रका लागि एकद्वार नियामक निकाय आवश्यक रहेको पनि बताएका छन् । सहकारी क्षेत्रलाई व्यवस्थित, अनुशासित र विश्वासिलो बनाउन स्पष्ट नियमन र प्रभावकारी अनुगमन अपरिहार्य रहेको उनको भनाइ छ ।
सहकारी अभियानमा लामो अनुभव, नीतिगत स्पष्टता र समाधानमुखी दृष्टिकोणका कारण डा। परितोष पौड्याललाई बागमती प्रदेशका सहकारीकर्मीहरूले भरोसायोग्य उम्मेदवारका रूपमा हेरिरहेका छन् । उनले “अमूल्य एक मतले सहकारी बैंकलाई थप उचाइमा पुर्याउन सकिन्छ” भन्दै सम्पूर्ण सहकारीकर्मीसमक्ष समर्थनको अपिल गरेका छन् ।