संचार उद्यमी शाह नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा
News Desk
May-23 तारिख 09:20 बेलुका

 

काठमाडौं । संचार उद्यमी उज्वल जंग पराक्रम शाह नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट शाह उपाध्यक्ष पदमा चयन भएका हुन् ।

अधिवेशनबाट शाहसँगै दुर्गाराज श्रेष्ठ र राजेन्द्र शेरचन पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी संघको अध्यक्षमा रमानाथ श्रेष्ठ चयन भएका छन् ।

नयाँ नेतृत्व चयनसँगै काठमाडौंका व्यवसायीहरूबीच संघप्रति थप आशा र अपेक्षा बढेको छ । उपाध्यक्षमा निर्वाचित भएपछि शाहले साना तथा मझौला व्यवसायीको हकहितका पक्षमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले व्यवसायीहरूले भोगिरहेका कर प्रणाली, प्रशासनिक जटिलता, लगानी असुरक्षा तथा बजार व्यवस्थापनसम्बन्धी समस्यालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने बताएका छन् ।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहले काठमाडौंका व्यवसायी अहिले विविध चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै संघमार्फत उनीहरूको आवाजलाई अझ प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहने बताए ।

शाहले निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण निर्माण आवश्यक रहेको धारणा राख्दै व्यवसायीलाई केवल कर तिर्ने माध्यमका रूपमा नभई देशको अर्थतन्त्रको साझेदारका रूपमा हेर्नुपर्ने बताए । उनका अनुसार उद्यमशीलता र लगानीमैत्री वातावरण सिर्जना भए मात्रै आर्थिक गतिविधि सशक्त बन्न सक्छ ।

उनले संघलाई व्यवसायीहरूको साझा र सक्रिय मञ्चका रूपमा विकास गर्ने तथा युवा उद्यमी, स्टार्टअप व्यवसाय र नयाँ लगानीकर्तालाई प्रोत्साहन गर्ने दिशामा आफूले विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

नयाँ कार्यसमितिको आगमनसँगै काठमाडौंका व्यवसायीका समस्या समाधान, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा आर्थिक गतिविधिलाई थप गतिशील बनाउन संघले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।