आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी
News Desk
May-28 तारिख 09:15 बेलुका • आज

काठमाडौं, जेठ १४ । नेपाल महिला चेम्बरको आयोजनामा “उद्यमशीलता :चुनौती, सुधार र युवा प्रेरणा” विषयक विशेष अन्तरक्रिया कार्यक्रम विहिवार नेपाल चेम्बर अफ कमर्समा सम्पन्न भएको छ । कार्यक्रममा संघीय संसद सदस्य एवं सत्तारुढ दल रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले लामो समयदेखि निजी क्षेत्रले अपेक्षा गरेअनुसार पाँच वर्षका लागि स्थायी सरकार गठन भएको उल्लेख गर्दै विगतमा जस्तो अस्थिर र संकुचित आर्थिक नीति दोहोरिन नदिने गरी सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुभयो । उहाँले वर्तमान अवस्थालाई अवसरका रूपमा लिन आग्रह गर्दै राजनीतिक मात्र नभई आर्थिक क्षेत्रमा समेत आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको उहाँले जानकारी दिनुुभयो ।

उहाँले सुशासन कायम गर्न डिजिटाइजेसन, फेसलेस तथा पेपरलेस प्रणालीलाई प्राथमिकतामा राखिएको बताउँदै उद्योग एकै दिनमा दर्ता हुने व्यवस्था गरिएको जानकारी दिनुभयो । रेमिटेन्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै आर्थिक रूपान्तरण गर्ने दिशामा सरकार अघि बढिरहेको उहाँको भनाइ थियो ।

सांसद अधिकारीले आगामी बजेटलाई निजी क्षेत्रमैत्री बनाउने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै बेरोजगारी न्यूनीकरणका लागि १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । सूचना प्रविधिसँग जोडेर ग्रामीण क्षेत्रबाट समेत काम गर्न सकिने वातावरण निर्माण गरिने, स्टार्टअप व्यवसायलाई कर छुट, बीउ पूँजी तथा वित्तीय पहुँच विस्तार गरिने उहाँले बताउनुभयो । साथै महिला तथा युवामुखी कार्यक्रमलाई प्रोत्साहन गर्दै नवप्रवर्तन परियोजना सञ्चालन गरिने धारणा राख्नुभयो ।

उत्पादन लागत घटाई उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सडक सञ्जाल विस्तार, उद्योग सञ्चालनका लागि कम लागतमा जग्गा उपलब्ध गराउने, औद्योगिक क्षेत्रलाई व्यवस्थित बनाउने तथा ऐन–नियममा सुधार गरिने उहाँले उल्लेख गर्नुभयो । यस्ता सुधारबाट महिला उद्यमशीलता विकासमा उल्लेख्य प्रगति हासिल हुने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल अहिले निर्णायक मोडमा रहेको बताउँदै महिला र युवा शक्तिलाई उचित रूपमा उपयोग गर्न सके देशले तीव्र विकास हासिल गर्न सक्ने धारणा राख्नुभयो । महिला समावेशिता र सशक्तीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले फिलिपिन्सको उदाहरण प्रस्तुत गर्दै महिलाहरूले आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो ।.

अध्यक्ष अग्रवालले महिला उद्यमशीलताको विकासका लागि वित्तीय पहुँच, बजार तथा प्रविधिसँग जोडिन आवश्यक रहेको बताउँदै नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । परम्परागत सोचबाट मात्र सम्भव नभएको उल्लेख गर्दै उहाँले सानो सुरुआतबाट पनि ठूलो परिवर्तन सम्भव हुने भएकाले युवाशक्तिलाई उद्यमशीलतामा अघि बढ्न आग्रह गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले महिलाका समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । हाल करिब १ करोड १० लाख नेपाली विदेशमा रहेको र नेपाली उत्पादनको माग बढ्दै गएको उल्लेख गर्दै महिला उद्यमलाई यससँग जोड्न सके आर्थिक सफलता हासिल गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी सचिव ईरा प्रसाईंले बढ्दो युवा पलायन रोक्न उद्यमशीलतालाई रोजगारीको आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सरकार र निजी क्षेत्रबीच समन्वय गरी उत्पादनलाई बजारसँग जोड्नुपर्ने, धितोबिनाको वित्तीय सुविधा नीतिमा भए पनि कार्यान्वयनमा समस्या रहेको उहाँले बताउनुभयो ।

अन्तरक्रियामा सहभागी महिला उद्यमीहरूले महिलालाई उद्योग सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुपर्ने, स्टार्टअप तथा कर्जा सुविधा सहज बनाउनुपर्ने, वित्तीय पहुँच विस्तार, अन्तर्राष्ट्रिय बजारमा पहुँच, सशक्तीकरणमूलक कार्यक्रमको अभाव, निर्यात प्रक्रियामा जटिलता, जोखिममा रहेका उद्योग व्यवसायको संरक्षण तथा एमआरपीसम्बन्धी समस्याका विषयमा धारणा राखेका थिए ।

धेरै पढिएको