News Desk
काठमाडौँ । खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन सुरु गर्ने उद्देश्यसहित दोस्रो चरणको सम्झौताका लागि आवश्यक गृहकार्य अघि बढाएको छ।
विभागले चीनको सरकारी निकाय चाइना जियोलोजिकल सर्भेसँग थप सहकार्य गर्दै व्यावसायिक उत्खनन प्रक्रियालाई अगाडि बढाउन आन्तरिक तयारी गरिरहेको जनाएको छ। यसका लागि आवश्यक सहयोग प्राप्त गर्न विभागले नेपाल सरकारसँग समेत समन्वय गरिरहेको छ।
चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषण परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। परियोजनाले पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन, ड्रिलिङ तथा विभिन्न प्राविधिक परीक्षणका कार्यहरू पूरा गरेको जनाएको छ।
पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार चीनका प्राविधिक विज्ञहरूको सहकार्यमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे तथा जियो–केमिकल स्याम्पलिङलगायतका महत्वपूर्ण अध्ययन सम्पन्न भएका छन्।
त्यसैगरी, उत्पादन तथा भण्डारण क्षमताको मूल्याङ्कनका लागि गरिएको नमूना परीक्षणबाट दैलेख क्षेत्रमा पेट्रोलियम र प्राकृतिक ग्यासको उल्लेखनीय सम्भावना रहेको पुष्टि भएको परियोजनाले जनाएको छ।
परियोजना सफलतापूर्वक कार्यान्वयन भई व्यावसायिक उत्पादन सुरु हुन सकेमा पेट्रोलियम पदार्थको आयातमा निर्भरता घट्नुका साथै ठूलो परिमाणमा विदेशी मुद्रा बचत हुने अपेक्षा गरिएको छ। यसले आयात प्रतिस्थापन, ऊर्जा सुरक्षाको सुदृढीकरण तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।