नेपालमै विश्वस्तरीय कस्मेटिक्स ओरा, कोरियन चाउचाउ र सोजु उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र निर्यातको लक्ष्य
News Desk
Jun-09 तारिख 08:25 बेलुका • आज

काठमाडौं , गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बहस चलिरहेका बेला पूर्व एनआरएनए  आईसीसी अध्यक्ष विनोद कुँवरको नेतृत्वमा स्थापित एन.के. कस्मेटिक्स प्रालिले नेपालमा आधुनिक औद्योगिकीकरणको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
कोरियन प्रविधि, अनुसन्धान, उत्पादन मापदण्ड तथा नेपाली उद्यमशीलताको समिश्रणबाट स्थापना भएको कम्पनीले ओरा ब्रान्डमार्फत नेपाली बजारमा गुणस्तरीय स्किन केयर तथा कस्मेटिक्स उत्पादन उपलब्ध गराउँदै आएको छ। कम्पनीको लक्ष्य केवल उत्पादन बिक्री गर्नु मात्र नभई नेपाललाई दक्षिण एसियाकै गुणस्तरीय कस्मेटिक्स उत्पादन केन्द्रका रूपमा विकास गर्नु रहेको बताइएको छ।

ललितपुरको इमाडोलमा स्थापना गरिएको आधुनिक उद्योगमा करिब ३५ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको कम्पनीले जनाएको छ। अत्याधुनिक उत्पादन प्रणाली, गुणस्तर परीक्षण प्रयोगशाला तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उत्पादन प्रक्रियाका कारण ओरा ब्रान्डले छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।

कम्पनीका अध्यक्ष तथा एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवरले विदेशमा बसेर आर्जन गरेको अनुभव, सीप र पूँजीलाई नेपालमै लगानी गर्नु आफ्नो दायित्व भएको बताए।

उनले नेपालमा उद्योग स्थापना गरेर स्वदेशमै अन्तर्राष्ट्रियस्तरका उत्पादन निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन ओरा ब्रान्डको सुरुआत गरिएको उल्लेख गरे।

“नेपालमा सम्भावना छैन भन्ने सोचलाई बदल्नुपर्छ। आधुनिक प्रविधि, व्यवस्थापन र प्रतिबद्धता भए नेपालमै विश्वस्तरीय उत्पादन गर्न सकिन्छ । ओरा त्यसको एउटा उदाहरण हो,” कुँवरले भने।

उनका अनुसार कम्पनीले केवल कस्मेटिक्स क्षेत्रमा मात्र होइन, खाद्य तथा पेय पदार्थ क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ। कोरियामा लोकप्रिय कोरियन चाउचाउ तथा विश्वकै सर्वाधिक बिक्री हुने मदिरामध्ये एक मानिने कोरियन सोजु समेत नेपालमै उत्पादन सुरु गरिएको उनले जानकारी दिए।

“हामी आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान चाहन्छौं। नेपालमा उत्पादन बढे रोजगारी बढ्छ, राजस्व बढ्छ, विदेशी मुद्रा बचत हुन्छ र देशको अर्थतन्त्र बलियो बन्छ,” उनले बताए।

कम्पनीकी प्रवन्ध निर्देशक तथा एनआरएनए आईसीसीकी सह-कोषाध्यक्ष गङ्गा खतिवडाले ओरा ब्रान्ड कोरियन प्रविधिमा आधारित उच्च गुणस्तरको उत्पादन भएको बताउँदै यसको प्रभावकारिता अनुभव गर्न सबैलाई आग्रह गरिन्।

“ओराका उत्पादनहरू छालाको स्वास्थ्य, सौन्दर्य र सुरक्षा ध्यानमा राखेर तयार गरिएका छन्। यो केवल सौन्दर्य सामग्री होइन, गुणस्तर र विश्वासको प्रतिफल हो। एकपटक प्रयोग गरेर यसको गुणस्तर अनुभव गर्न म सम्पूर्ण उपभोक्तालाई आग्रह गर्छु,” उनले भनिन्।

उनले ओराको अवधारणा कोरियन भए पनि उत्पादन नेपालमै भइरहेको उल्लेख गर्दै नेपाली उपभोक्ताले यसलाई आफ्नै ब्रान्डका रूपमा अपनाउनुपर्ने बताइन्।

“नेपालमै उत्पादन हुने भएकाले ओरा लाई माया गर्नु भनेको नेपाली उद्योग, नेपाली श्रमिक र नेपाली अर्थतन्त्रलाई माया गर्नु हो,” खतिवडाले भनिन्।

कम्पनीका अनुसार ओराका उत्पादनहरू नेपाली मौसम, वातावरण र छालाको प्रकृतिलाई ध्यानमा राखेर विकसित गरिएका छन्। उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अपनाइएको छ भने कच्चा पदार्थको छनोटदेखि अन्तिम प्याकेजिङसम्म विशेष ध्यान दिइएको छ।

हाल कम्पनीले विभिन्न प्रकारका फेस केयर, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री बजारमा उपलब्ध गराएको छ। निकट भविष्यमा थप १० देखि १५ नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा कम्पनीले एक सयभन्दा बढी प्रकारका कस्मेटिक्स तथा व्यक्तिगत हेरचाहसम्बन्धी उत्पादन उत्पादन गर्न सक्ने क्षमता राख्छ।

कम्पनीले प्रत्यक्ष रूपमा दर्जनौं नेपाली युवालाई रोजगारी प्रदान गरिरहेको छ भने अप्रत्यक्ष रूपमा वितरण, बजार व्यवस्थापन, खुद्रा व्यापार तथा आपूर्ति प्रणालीमार्फत सयौं व्यक्तिलाई आर्थिक गतिविधिसँग जोडेको छ।

कम्पनीको दीर्घकालीन लक्ष्य नेपाललाई गुणस्तरीय कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत हेरचाह उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ। साथै, दक्षिण एसिया, मध्यपूर्व, युरोप र अन्य अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन निर्यात गर्ने रणनीतिमा कम्पनी अघि बढिरहेको जनाएको छ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री परीक्षा लिम्बूलाई ब्रान्ड एम्बासडर नियुक्त गरी कम्पनीले ओरा लाई युवा पुस्तामाझ थप लोकप्रिय बनाउने अभियान पनि सञ्चालन गरिरहेको छ।

एनआरएनहरूको लगानी केवल रेमिट्यान्समा सीमित नभई उद्योग, उत्पादन र रोजगारी सिर्जनातर्फ केन्द्रित हुन थालेको सन्दर्भमा विनोद कुँवर नेतृत्वको यो परियोजनालाई धेरैले उदाहरणीय पहलका रूपमा लिएका छन्। कोरियन प्रविधि, एनआरएनएको अनुभव र नेपाली श्रमको संयोजनबाट अघि बढिरहेको ओरा ब्रान्ड आज केवल एक व्यावसायिक उत्पादन नभई स्वदेशी उत्पादन, आत्मनिर्भरता, औद्योगिक विकास र आर्थिक रूपान्तरणको प्रतीक बन्ने दिशामा अग्रसर देखिएको छ।

धेरै पढिएको