News Desk
वि.सं. २०७९ साल साउन १ गते काठमाडौंको दरबारमार्गस्थित ओरिएन्ट क्याफेमा आयोजित रैथाने हाट बजारबाट नेपाल डेरी एसोसिएसनको अगुवाइमा मैले मोही प्रवर्द्धन अभियान सुरु गरेको थिएँ। त्यसबेला धेरैले मोहीलाई गरिबले खाने पेय पदार्थ, आधुनिकता नबुझेको र बजार सम्भावना नभएको उत्पादनका रूपमा हेर्थे। कतिपयले यो अभियानलाई नकारात्मक दृष्टिकोणले समेत हेरेका थिए।
तर हामीले आफैं ठेकीमा मोही तुल्याएर लगातार दुई वर्षसम्म निःशुल्क रूपमा सर्वसाधारणलाई सेवन गराउने अभियान सञ्चालन गर्यौं। त्यसको सकारात्मक परिणाम आज देशभर देख्न पाउँदा अत्यन्तै खुसी लागेको छ। हाल नेपालभर दैनिक करिब एक लाख लिटरभन्दा बढी मोहीको खपत भइरहेको छ भने करिब ५० वटा डेरी उद्योगले मोहीलाई आधुनिक लेबलिङ र प्याकेजिङसहित बजारमा ल्याएका छन्।
हिजो मोहीलाई उपेक्षा गर्नेहरू नै आज आफ्ना उद्योगमा मोही उत्पादन र प्रदर्शन गरिरहेको देख्दा अभियान सफल हुँदै गएको अनुभूति भएको छ। अहिले सार्वजनिक कार्यक्रम, गोष्ठी, सेमिनार, चाडपर्व, धार्मिक पूजा, पारिवारिक जमघट तथा विभिन्न सामाजिक गतिविधिहरूमा मोहीको प्रयोग बढ्दो क्रममा छ। यसले स्वदेशी दुग्धजन्य उत्पादनको प्रवर्द्धन र किसानको उत्पादनको बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको छ।
मोही प्रवर्द्धनमा पुर्याएको योगदानको कदर स्वरूप मैले राष्ट्रिय दुग्ध विकास बोर्डबाट राष्ट्रिय सम्मान प्राप्त गरेको छु। साथै विभिन्न संघसंस्था र निकायहरूबाट पनि मोही अभियन्ताका रूपमा सम्मान तथा प्रशंसापत्र प्राप्त गर्दै आएको छु। यो सम्मान व्यक्तिगतभन्दा पनि नेपाली डेरी क्षेत्र, दुग्ध किसान र स्वदेशी उत्पादनप्रतिको सम्मान हो भन्ने मेरो र हाम्रो एसोसिएसनको विश्वास छ।
आज विभिन्न राजनीतिक दलका अधिवेशन, बैठक, गोष्ठी तथा सेमिनारहरूमा समेत मोहीको प्रयोग बढ्दै गएको देख्दा निकै उत्साहित भएको छु। विशेषगरी आज चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सभामा मोहीको व्यापक प्रयोग भएको समाचारले स्वदेशी उत्पादनप्रतिको आकर्षण बढिरहेको पुष्टि गरेको छ। यसका लागि सम्बन्धित आयोजकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
मोही अभियानलाई देशव्यापी बनाउन विद्यालय, कलेज, सामाजिक संघसंस्था तथा विभिन्न सार्वजनिक कार्यक्रमहरूमा विद्यार्थी र सर्वसाधारणलाई मोही सेवन गराउने तथा यसको महत्वबारे जानकारी दिने कार्य निरन्तर रूपमा भइरहेको छ। यस अभियानमा नेपाल डेरी एसोसिएसनका सम्पूर्ण सदस्यहरूको साथ र सहयोग महत्वपूर्ण रहेको छ। साथै एउटा सानो कुनाबाट सुरु भएको अभियानलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सञ्चारकर्मी तथा विभिन्न मिडियाले खेलेको भूमिका प्रति विशेष आभार व्यक्त गर्न चाहन्छु।
हामी सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, विद्यालय, कलेज, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र आम नेपाली नागरिकलाई स्वदेशी उत्पादनको प्रयोग बढाई नेपाली किसान, डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुर्याउन हार्दिक आह्वान गर्दछु।
प्रल्हाद दाहाल
मोही अभियान्ता एवं अध्यक्ष
नेपाल डेरी एसोसिएसन