News Desk
काठमाडौं l वैदेशिक रोजगारीका नाममा हुने ठगी, आर्थिक शोषण, साइबर अपराध तथा अवैध एजेन्टको सञ्जालविरुद्ध सरकारले आक्रामक अभियान सुरु गरेको छ। युवा तथा रोजगार मन्त्रालयले ‘Operation Illegal Agent Cleanup towards Safer Migration’ (अवैध एजेन्टविरुद्ध अभियान : सुरक्षित वैदेशिक रोजगारीका लागि) नामक डिजिटल प्लेटफर्म (वेबसाइट र मोबाइल एप) सार्वजनिक गर्दै वैदेशिक रोजगारी क्षेत्रलाई पारदर्शी, सुरक्षित र बिचौलियामुक्त बनाउने अभियानलाई तीव्र बनाएको हो।
यससँगै हालै दि रिभर ओभरसिज प्रालि लगायत केही वैदेशिक रोजगार कम्पनीमा गरिएको अनुगमन र संयुक्त छापापछि वर्षौंदेखि चल्दै आएको ठगी र लुटधन्दाका विभिन्न पाटा सतहमा आउन थालेको भन्दै मन्त्रालयले यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट सन्देश दिएको छ।
उक्त कार्यक्रममा युवा तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीको नाममा नेपाली नागरिकमाथि हुने कुनै पनि प्रकारको ठगी अब सह्य नहुने बताए । गैरकानुनी एजेन्ट र नियमविपरीत काम गर्ने संस्था वा व्यक्तिविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने उल्लेख गर्दै उनले गलत गर्नेलाई कुनै हालतमा नछाडिने स्पष्ट पारे ।
उनले एउटै व्यक्ति वा समूहविरुद्ध धेरै उजुरी परेमा त्यसलाई अनुसन्धानको महत्वपूर्ण आधार मानेर कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए । “हामी डाटामा आधारित सुशासन लागू गरिरहेका छौं। उजुरीका आधारमा अनुसन्धान हुन्छ, प्रमाण संकलन हुन्छ र दोषी देखिए कानुनअनुसार कडा कारबाही हुन्छ,” मन्त्री यादवले भने ।
मन्त्री यादवले हालसम्म भएका छापा र अनुसन्धान सुरुआत मात्र भएको जनाउँदै आगामी दिनमा थप अनुगमन, संयुक्त छापा र कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाइने घोषणा गरे । वैदेशिक रोजगारीका नाममा श्रमिकलाई ठग्ने, अनावश्यक रकम असुल्ने, झुटा आश्वासन दिने वा कानुनविपरीत गतिविधि गर्ने जो कोहीलाई कानुनको कठघरामा उभ्याइने उनको दाबि थियो।