नेपाल वायुसेवा निगममा सुधारको संकेत, तीन वर्षभित्र ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको लक्ष्य
News Desk
Aug-03 तारिख 06:35 बिहान

काठमाडौं – नेपाल वायुसेवा निगममा नयाँ सञ्चालक समिति गठन र नेतृत्व परिवर्तनसँगै संस्थागत सुधारका संकेत देखिन थालेको निगमले जनाएको छ। सुशासन, व्यावसायिकता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्वले सुधारका कार्यक्रम अघि बढाएको दाबी गरिएको छ।

गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट चयन भएका पाँच सदस्य र मन्त्रालयका दुई प्रतिनिधिसहित सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो। त्यसपछि मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयबाट हवाई सेवा क्षेत्रका अनुभवी महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो।

वायुसेवा क्षेत्रमा लामो अनुभव भएका श्रेष्ठ २०४९ सालमा निगमकै निर्देशक पदबाट अवकाश प्राप्त गरेका थिए। सेवाकालमा उनले बजार, संस्थागत तथा व्यवसाय प्रवर्द्धन विभागको नेतृत्व सम्हालेका थिए। बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालयबाट हवाई यातायात विषयमा उच्च शिक्षा हासिल गर्ने पहिलो नेपालीका रूपमा परिचित श्रेष्ठले क्यानडा, अमेरिका र भारतमा पनि हवाई सेवा व्यवस्थापन, योजना निर्माण तथा बजार प्रवर्द्धनसम्बन्धी विशेष अध्ययन र तालिम लिएका छन्।

कार्यकारी अध्यक्ष श्रेष्ठले पदभार सम्हालेपछि तीन वर्षभित्र निगमलाई ऋणमुक्त र आत्मनिर्भर संस्थामा रूपान्तरण गर्ने लक्ष्य सार्वजनिक गरेका छन्। पदभार ग्रहण गरेको १५ दिनभित्रै तीन पटक सञ्चालक समितिको बैठक तथा सुधार केन्द्रित अन्य दर्जनौँ बैठक सम्पन्न भइसकेको उनले बताए। ती बैठकबाट निगमको दीर्घकालीन सुधारका लागि स्पष्ट रणनीति, कार्ययोजना र मार्गचित्र तयार गरिएको उनको भनाइ छ।

निगमका अनुसार आर्थिक सुधारका प्रारम्भिक संकेत पनि देखिन थालेका छन्। अघिल्लो वर्षको असार महिनाको तुलनामा यस वर्ष असारमा निगमको आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष सोही अवधिमा करिब एक अर्ब ५७ लाख रुपैयाँ आम्दानी भएकोमा यस वर्ष करिब एक अर्ब ३३ करोड ५२ लाख रुपैयाँ आम्दानी भएको निगमले जनाएको छ।

विमानको सिट उपयोग दरमा पनि उल्लेखनीय सुधार आएको छ। अघिल्लो वर्ष करिब ७५ प्रतिशत रहेको सिट उपयोगिता यस वर्ष बढेर ८५.४ प्रतिशत पुगेको निगमको तथ्यांक छ।

निगमकी प्रवक्ता तथा कर्पोरेट विभागकी निर्देशक अर्चना खड्काका अनुसार गत आर्थिक वर्षभर निगमले २९४ वटा उडान सञ्चालन गरेको थियो, जसबाट ४९ हजार ४६० यात्रुले सेवा लिएका छन्।

यसैबीच, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुने फ्लाई दुबईको नियमित उडानका लागि आवश्यक ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन निगमले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ।

कार्यकारी अध्यक्ष श्रेष्ठले उपलब्ध स्रोत–साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै आम्दानी बढाउने र अनावश्यक खर्च घटाउने योजनाहरू कार्यान्वयनमा ल्याइएको बताए।

उनले निगमको सेवा युरोपसम्म विस्तार गर्ने, संस्थालाई पारदर्शी, मितव्ययी र व्यावसायिक बनाउने तथा हालको ऋण चुक्ता गरी आफ्नै आम्दानीबाट सञ्चालन हुने आत्मनिर्भर राष्ट्रिय ध्वजावाहक संस्थाका रूपमा विकास गर्ने लक्ष्यमा आफू प्रतिबद्ध रहेको बताएका छन्।