क्यानडामा ‘आमाको चौथो मोमो फेस्टिभल’ आयोजना हुने
News Desk
Aug-09 तारिख 07:44 बिहान • आज

क्यानडा । नेपाली मौलिक स्वाद, संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउने उद्देश्यले क्यानडामा ‘आमाको चौथो मोमो फेस्टिभल’ आयोजना हुने भएको छ।
क्यानडाको अल्बर्टास्थित कोक्रेनमा आगामी अगस्ट २३, २०२६ मा आयोजना हुने फेस्टिभल बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न स्वादका मोमो, सांगीतिक प्रस्तुति तथा बालबालिकाका लागि विशेष Kids Zone लगायतका आकर्षण रहने आयोजकले जनाएको छ।
फेस्टिभलको आयोजना क्यालगरीमा व्यावसायिक रूपमा सक्रिय Executive Chef ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित Aama Nepalese Cuisine ले गर्न लागेको हो।

दिवंगत आमाको सम्झनामा ‘आमा’

आफ्नी दिवंगत आमाको सम्मान र सम्झनामा शेफ ज्ञानेन्द्रले Aama Nepalese Cuisine सञ्चालनमा ल्याएका हुन्। नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यसहित सञ्चालन हुँदै आएको रेस्टुरेन्टले क्यानडाको स्थानीय समुदायमा नेपाली परिकारको पहिचान स्थापित गर्न योगदान पुर्‍याउँदै आएको छ।
शेफ ज्ञानेन्द्रले नेपाली परिकारलाई केवल खानाका रूपमा नभई नेपालको संस्कृति, पहिचान, आतिथ्य र मौलिकताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनको नेतृत्वमा सञ्चालित Aama Nepalese Cuisine ले “Calgary’s Best New Restaurants 2024 – Avenue Calgary” सम्मानसमेत प्राप्त गरेको छ।
दुई दशकको पाककला अनुभव
आतिथ्य तथा पाककलाको क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय शेफ ज्ञानेन्द्रले विभिन्न अन्तर्राष्ट्रिय होटल ब्रान्डमा काम गरिसकेका छन्। उनले Hyatt Regency, Hilton Hotels, Fairmont Hotels, Sheraton, Marriott र Millennium Hotels लगायत प्रतिष्ठित होटलमा सेफका रूपमा काम गरेको अनुभव हासिल गरेका छन्।


उनले भियना, अस्ट्रियाबाट Culinary Arts सम्बन्धी डिप्लोमा हासिल गरेका छन्। युरोप, उत्तरी अमेरिका तथा मध्यपूर्वका विभिन्न मुलुकमा काम गर्दै उनले खाद्य तयारी, मेनु योजना, प्रस्तुति तथा आतिथ्य सेवामा अन्तर्राष्ट्रिय अनुभवसमेत बटुलेका छन्।


मोमोमार्फत नेपाली पहिचानको प्रवर्द्धन
‘आमाको मोमो फेस्टिभल’लाई शेफ ज्ञानेन्द्रको नेपाली खानाको प्रवर्द्धन अभियानकै निरन्तरताका रूपमा लिइएको छ। नेपालीको घर–घरमा लोकप्रिय मोमोलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्दै यसको स्वादसँगै नेपाली संस्कृति र पहिचानलाई जोड्ने प्रयास गरिएको आयोजकको भनाइ छ।


“मोमो नेपाली खानाको लोकप्रिय परिकार मात्र होइन, यससँग हाम्रो संस्कृति, परिवार र आतिथ्य पनि जोडिएको छ। मोमोको माध्यमबाट नेपाली स्वादसँगै नेपाल र नेपालीको पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउनु हाम्रो उद्देश्य हो,” शेफ ज्ञानेन्द्रले भने।
फेस्टिभलमा नेपाली समुदायसँगै क्यानडाका स्थानीय तथा अन्य अन्तर्राष्ट्रिय समुदायलाई समेत सहभागी गराउने तयारी गरिएको छ। परिवारसहित रमाइलो गर्न सकिने वातावरण निर्माण गर्न सांगीतिक कार्यक्रम र बालबालिकाका लागि Kids Zone लगायतका गतिविधि राखिएको आयोजकले जनाएको छ।

 

धेरै पढिएको