शाहरूखले मलाई तीन सय रूपैयाँ दिएका थिए :प्रियामणि
News Desk
Jun-19 तारिख 01:07 बेलुका

दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री प्रियामणिको चर्चा 'द फ्यामिली म्यान' सिरिजपछि चुलिएको छ।

द फ्यामिली म्यानको पहिलो सिजनदेखि नै दर्शकको मन जित्दै आएकी प्रियामणिले सूचीको भूमिका निर्वाह गरेकी छन्। श्रीकान्त तिवारी (मनोज बाजपेयी) की श्रीमती बनेकी उनको भूमिका दोस्रो सिजनमा अझै बढेको छ।

फिल्म फेयर अवार्ड र नेसनल फिल्म अवार्ड जितिसकेकी प्रियामणिले ६० भन्दा बढी दक्षिण भारतीय सिनेमामा काम गरिसकेकी छन्। उनले हिन्दी भाषाको फिल्म 'रावन' मा जमुनीको भूमिका निर्वाह गरेकी थिइन्। त्यस्तै दीपिका पादुकोण र शाहरूख खानको फिल्म 'चेन्नइ एक्प्रेस' को एउटा गीतमा पनि उनले नृत्य गरिसकेकी छन्।

चेन्नई एक्सप्रेसको चर्चित गीत 'वानटुथ्रीफोर' मा प्रियामणिले शाहरुखसँग काम गर्दाको अनुभव बताएको हिन्दुस्तान टाइम्सले लेखेको छ। 

गीतमा उनी शाहरुखसँग एउटै स्क्रिनमा देखिन्छिन्। त्यस समय उनलाई शाहरुखले तीन सय रुपैयाँ पनि दिएको बताइन्। 

प्रियामणिले एक अन्तर्वार्तामा भनेकी छन्, 'गीतको सुटिङ पाँच रातसम्म भएको थियो र हाम्रा लागि त्यो निकै रमाइलो अनुभव थियो। शाहरुखलाई बलिउडको बादशाह भन्नुको कारण रहेछ। उनी देशको सबैभन्दा ठूला सुपरस्टारमध्ये एक हुन् तर उनले आफ्नो सफलताको घमण्ड कहिल्यै गरेनन्। सुटिङमा उनले कसैलाई अप्ठ्यारो पारेनन् र सबैजना उनीसँग काम गर्न पाउँदा खुसी थिए। उनको व्यक्तित्व नै यस्तो छ कि उनलाई माया नगर्ने कोही हुँदैनन्।'

प्रियामणिका अनुसार सुटिङकै क्रममा एक दिन उनी चाँडै पुगिन्। सुटिङ सुरू नहुन्जेल उनी र शाहरूखले गफगाफ गरे। शाहरूख सबैको खयाल राख्थे। यति मात्र होइन, बीच-बीचमा उनीहरूले आइप्याडमा 'कौन बनेगा करोडपति' पनि खेले।

'खेल क्रममा शाहरूखले मलाई तीन सय रूपैयाँ दिएका थिए जुन अहिले पनि मैले पर्समा राखेकी छु,' प्रियामणिले भनेकी छन्, 'उनले मलाई पनि पहिलो दिनदेखि नै धेरै सहज बनाइदिए।'
 

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८, १४:१६:००

1.7kShares