कोरोनाले मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रम फैलाउने पक्राउ
News Desk
Sep-07 , 2020 तारिख 05:23 बेलुका

काठमाडौँ — भाद्र २२, २०७७। 

आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । 

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए । उनलाई ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए ।

लिम्बूले केही समययता विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए । साथै उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए ।

एसएसपी थापाका अनुसार यसअघि पनि उनले आफू आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको भन्ने उजुरीका आधारमा सातादोबाटो प्रहरी वृत्तले समेत पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

पक्राउ परेका लिम्बूलाई कोरोना भाइरसको संक्रमणबारे भ्रम फैलाएको र विभिन्न व्यक्तिलाई आक्षेप लगाएको आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाउने पनि एसएसपी थापाले जानकारी दिए ।

‘अन्तिम विकल्प’ नामक क्लिनिक सञ्चालन गरेका लिम्बूले थुप्रै बिरामीलाई ठगेको पीडितहरु बताउँछन् । सामाजिक सञ्जालमा विज्ञापन हेरेर उनको ‘अन्तिम विकल्प’ मा दैनिक ५० भन्दा बढी बिरामी पुग्ने गरेका छन् । उनले एकै जनालाई एक महिनाका लागि भन्दै 'भिटामिन डी' भिडाएर ३० हजारसम्म असुल्ने गरेका थिए ।

उपचार गर्न पुग्नेमध्ये ८० प्रतिशत क्यान्सरका बिरामी र १० प्रतिशत एचआईभी भएको र तीनलाई आफूले निको बनाएको लिम्बूले दाबी गर्दै आएका थिए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको