गैरपत्रकार व्यक्तिलाई प्रेस कार्ड बनाएर बेच्ने गिरोह पक्राउ
News Desk
Sep-08 , 2020 तारिख 01:14 बिहान

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडान तथा निषेधाज्ञा बेला सहज रुपमा आवागमन गर्ने भनेर गैरपत्रकार व्यक्तिलाई पनि प्रेस कार्ड बनाएर बेच्ने एक गिरोह पक्राउ परेको छ ।

राजधानी काठमाडौंबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रिका, मूलधारका अनलाइन, टिभी र रेडियो तथा अन्य सञ्चारकामाध्यमको नाममा प्रेस कार्ड बनाएर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला समिति समेतको सहयोगमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बागबजारस्थित कालिका डिजाइनबाट एक गिरोहका व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल फेसबूकको विभिन्न म्यासेन्जर ग्रुपमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क राखेर प्रेस कार्ड बनाइ घरमै गएर बेच्ने गरेका थिए ।

उनीहरुले त्यस्ता प्रेस कार्डको प्रति कार्ड ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँ समेत लिने गरेका थिए । उनीहरुले प्रेस लेखेको ज्याकेट समेत छापेर बिक्री गर्ने गरेका प्रहरीको भनाइ छ ।

‘फेसबूकमार्फत सम्पर्क स्थापना गरेर फेसबूकबाटै विभिन्न सञ्चार प्रतिष्ठानका प्रेस कार्डको नमूना बनाइ पठाउने गरेको र ग्राहकले नमूना रोजेपछि घरमै गएर डेलिभरी गर्ने गरेको देखियो,’ महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने, ‘उनीहरुले १ जनालाई कार्ड बेच्दा व्यक्तिअनुसार ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म लिएको पाइएको छ ।’

धेरै पढिएको