News Desk
म्यानचेस्टर — भाद्र २७, २०७७।
अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पहिलो वान डे शुक्रबार १९ रनले जितेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा साम बिलिङ्सले आफ्नो पहिलो शतक बनाए पनि त्यो इंग्ल्यान्डको सफलताका लागि पर्याप्त रहेन ।
जितका लागि २ सय ९५ रन पछ्याइरहेको इंग्ल्यान्डले ९ विकेटमा २ सय ७५ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाली प्रारम्भिक बलर जोस हेजलउडको घातक बलिङ अगाडि इंग्ल्यान्डले कमजोर सुरुआत लिएको थियो र ५७ रन बनाउँदासम्म ४ विकेट गुमाइसकेको थियो । बिलिङ्सको १ सय १८ रन र जोनी बेयरस्टोको ८८ रनले इंग्ल्यान्डको सम्भावना कायम रहेको थियो ।
यसअघि अस्ट्रेलियाले पनि खराव सुरुआत लिएको थियो र उसले १ सय २३ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको थियो । तर अन्त्यमा ९ विकेटमा २ सय ९४ रन बनाउन सफल रह्यो । त्यसका लागि मिचेल मार्स र ग्लेन म्याक्सवेलले ठोस १ सय २६ रनको साझेदारी गरेका थिए ।
(एजेन्सी/कान्तिपुर दैनिक)