पहिलोपटक सरकारी तहबाट आयोजित प्रदर्शनीमा राउटेको कला समावेश
News Desk
Jun-02 , 2025 तारिख 12:58 बेलुका

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन।

उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै छन। उनीहरूका साथमा राउटे समुदायकी महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन। उनीहरू असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन। उनीहरूले गरिरहेको काम काठमाडौँ उपत्यकावासीका लागि नौलो थियो। पुरुषहरू कोसी (आरी) बनाउँदै त महिलाहरू कपडामा बुट्टा सिलाउँदै थिए।

बिहीबारदेखि यहाँ सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८२ का अवसरमा ललितकलाकै इतिहासमा पहिलोपटक राउटेहरू यसरी कला सिर्जनामा सहभागी भएका हुन। उनीहरूले यहाँ प्रत्यक्ष रूपमा कला कार्यशाला नै गर्नु अर्को नयाँ थियो। प्रदर्शनीमा आइपुगेका कला पारखीहरू राउटेले गरेका काम श्रव्यदृश्यमा कैद गर्न व्यस्त थिए। मुङ्ग्रोको सहयोगमा बसिलो प्रयोग गरेर उनीहरूले कोसी बनाए।

“छिनु ल्याइएन, त्यसैले चिल्लो बनाउन पाएन, बसिलोले काठमा आकार बनाउँदै छु”, दीपक शाहीले भने। उनका अनुसार डाडु, पन्यू, कोसी, ढकन, सन्दुक, पिर्का राउटेका मुख्य हस्त–शिल्पकला हो। प्रदर्शनीमा उनीहरूका हस्तकलासमेत राखिएको छ। यो पनि ललितकलाको इतिहासमै पहिलोपटक सरकारी तहबाट राउटेको कला प्रदर्शनीमा समावेश भएको हो।

त्यसमाथि हस्त शिल्पकलामा यसपटक उनीहरूले बनाएको कला प्रादेशिक पुरस्कार प्राप्त गर्न सफल भएका छन। उनीहरूले ३० हजार रुपैयाँ पुरस्कार पाए। “हामी खुसी छम्, यहाँ आएम्, पैसा दिनुभयो, हामीले बनाएका सामान बिकेका छन्”, दीपकले भने। उनीहरूले ल्याएका २० वटा कोसी सबै बेचिसकेको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए।

उनले भने, “नेपालको लोपोन्मुख समुदाय राउटेका हस्त शिल्पकलालाई हामीले राष्ट्रियस्तरमा जोड्न सफल भएका छौँ, कलामा पुनर्जागरण भनेर हामीले काम गरिरहेका छौँ। यसरी रैथाने मौलिक कला जोगाउनु हाम्रो महत्त्वपूर्ण उद्देश्य थियो, एक हिसाबले सफल भएको महसुस गरेका छौँ।” उनले यसपालि तराईको डोम समुदायको कलासमेत समावेश गरिएको बताए।​ मुख्यगरी राउटेहरूसँग जोडिएको प्रादेशिक कला प्रदर्शनीले हो।

गत फागुन ६ देखि १० गतेसम्म कर्णालीमा प्रादेशिक कला प्रदर्शनी आयोजना गरिएको थियो। राउटे समुदायको कला पनि छ भन्ने थाहा पाएपछि स्थानीयको सहयोगमा उनीहरूको बस्तीमै गएर कला प्रदर्शनीमा सहभागी गराइएको थियो।

“उहाँहरूले कर्णालीमा पनि प्रत्यक्ष कला कार्यशाला गर्नुभएको थियो। उहाँका सहयोगी लालबहादुर खत्रीसँगको समन्वयमा कला सिर्जनाका लागि काठमाडौँ ल्याउन सफल भयौँ”, कर्णाली कला प्रदर्शनीका संयोजक, प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य पाल्साङ्मो लामाले बताए। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले रैथाने कलालाई उजागर गर्ने प्रयास गरेको बताए।

काठमाडौँमा कला देखाउन नपाएका सूर्यनारायण

कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटे मुखिया सूर्यनारायण शाहीको कला प्रदर्शनी भएको थियो। काठमाडौँ आउनुअघि उनको निधन भएकाले कला देखाउन पाएनन। यद्यपि उनले बनाएको पिर्का र ढकनसहितको कोसी यहाँ देख्न सकिन्छ। प्रदर्शनीमा लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्यू राखिएको छ।

कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहनेछ। प्रदर्शनीमा देशका ६५ जिल्लाका विविध विधाका प्रतियोगी, अप्रतियोगी कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन lRSS

धेरै पढिएको