युलेन्स र लिटिल एन्जल्सस​हित केही स्कुलहरू वाणिज्य​ विभाग​को कार्वाहीमा
News Desk
Jun-12 , 2025 तारिख 03:36 बिहान

काठमाडौं, असार २९ | उपभोक्ता संरक्षणका लागि कडाइका साथ काम गरिरहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालको नेतृत्वमा बुधबार राजधानीका केही प्रतिष्ठित निजी विद्यालयहरूमा छापा मारिएको छ।

ललितपुरस्थित युलेन्स एजुकेसन फाउन्डेसन र लिटिल एन्जल्स स्कुलसहित ११ वटा शिक्षण संस्था र व्यापारिक प्रतिष्ठानहरूमा गरिएको अनुगमनमा उपभोक्ता हितविरुद्धका गतिविधि भेटिएपछि विभागले कारबाही अघि बढाएको हो।

छानबिनका क्रममा युलेन्स स्कुलमा नेपाली कांग्रेसका सभापति तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको लगानी रहेको खुलेको छ भने लिटिल एन्जल्स स्कुल कांग्रेसका कोषाध्यक्ष तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठसँग सम्बन्धित छ।

विभागका अनुसार ती विद्यालयहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत दफा १६ र २० विपरीत कार्य गर्दै आएको पाइएको छ। उनीहरूले वस्तु वा सेवाको वास्तविक लागतको आधारमा नभई अनावश्यक मूल्य वृद्धि गरी उपभोक्तालाई नोक्सानी पुर्‍याउने किसिमले शुल्क निर्धारण गरेको आरोप छ।

यसबाहेक, मूल्यमा विभिन्न बोनस, उपहार वा अन्य सेवाहरूको लागत समेत समावेश गरेर नक्कली रूपमा महँगो बनाइएको देखिएको छ। विद्यालयहरूले व्यवसायसँग सम्बन्धित मापदण्ड पालना नगरेको, बौद्धिक सम्पत्ति हनन (ट्रेडमार्क चोरी) गरेको र कानुन विपरीत नक्कलजन्य कार्यसमेत गरेको विभागले उल्लेख गरेको छ।

यस सन्दर्भमा विभागले ती विद्यालयहरूलाई व्यवसाय सञ्चालनसँग सम्बन्धित सम्पूर्ण कागजातहरू — कर चुक्ता प्रमाण, कम्पनी दर्ता अद्यावधिक, शेयर लगत, वार्षिक लेखापरीक्षण प्रतिवेदन, शिक्षक/कर्मचारी विवरण, तलब भुक्तानी र छात्रवृत्ति सम्बन्धी विवरण — तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ।

साथै, साइनबोर्डको नमूना, कक्षगत विद्यार्थी विवरण, भ्याट र प्यान प्रमाणपत्र, भौतिक सम्पत्तिको विवरण लगायतका कागजातहरू पनि पेश गर्न भनिएको छ।

महानिर्देशक दाहालको नेतृत्वमा विभागले पछिल्ला दिनमा काठमाडौँ उपत्यकाका निजी शैक्षिक संस्था र व्यवसायिक प्रतिष्ठानहरूमाथि निरन्तर निगरानी र छापा अभियान सञ्चालन गर्दै उपभोक्ताविरुद्ध हुने गतिविधिमा कडाइका साथ कारबाही गरिरहेको छ।

धेरै पढिएको