आईपीएल खेलाडी यश दयालमाथि बलात्कारको आरोप, युवतीद्वारा उजुरी दर्ता
News Desk
Jun-30 , 2025 तारिख 12:29 बेलुका

इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन टिम रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का फास्ट बलर यश दयाल बलात्कारको आरोपमा मुछिएका छन्। गाजियाबादको इन्दिरापुरम क्षेत्रकी एक युवतीले दयालविरुद्ध गम्भीर आरोप लगाउँदै अनलाइन पोर्टलमार्फत प्रहरीसमक्ष उजुरी दर्ता गराएकी हुन्।

भारतभर चर्चाको विषय बनेको यो घटनाप्रति प्रहरीले गम्भीर ध्यान दिएको छ। गाजियाबाद प्रहरीले आइतबार पीडितको विस्तृत बयान लिएको र यश दयाललाई पनि अनुसन्धानका लागि बयान दिन हाजिर हुन नोटिस पठाइएको जनाएको छ।

सामाजिक सञ्जालबाट सुरु, सम्बन्धसम्मको यात्रा

पीडित युवतीका अनुसार उनी र यश दयालबीच सन् २०१९ मा सामाजिक सञ्जालमार्फत सम्पर्क सुरु भएको थियो। त्यसपछि इन्स्टाग्राममै दयालले विवाहको प्रस्ताव राखेका थिए। ती युवतीले आरोप लगाएकी छन् कि यशले आफूलाई लामो समयसम्म बेंगलुरुमा साथमा राखे तर पछिल्ला महिनाहरूमा उनी सम्पर्कविहीन हुँदै गए। एक महिनाअघि त उनले सामाजिक सञ्जालमै ब्लक गरेको पीडितको भनाइ छ।

विवाह गर्न अस्वीकार, विरोध गर्दा कुटपिट?

युवतीले आरोप लगाएकी छन् कि यशले अन्ततः विवाह गर्न अस्वीकार गरे। जब उनले विरोध जनाइन्, यशले कुटपिट समेत गरेका थिए। त्यसपछि मानसिक, सामाजिक र आर्थिक रूपले आफू असहाय बनेको उनको भनाइ छ। यशविरुद्ध उनले जुन २१ मा आईजीआरएस प्रणालीमार्फत उजुरी दर्ता गराएकी थिइन् भने जुन २५ मा सामाजिक सञ्जालमार्फत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमक्ष न्यायको अपिल गरेकी थिइन्।

प्रमाणस्वरूप प्रस्तुत गरिए च्याट, स्क्रिनसट र भिडिओ रेकर्ड

पीडितले प्रहरीसमक्ष प्रमाणस्वरूप यशसँगको च्याट, स्क्रिनसट, र भिडिओ कलका रेकर्डहरू पेस गरेकी छिन्। प्रहरीका अनुसार यश दयाललाई चाँडै अनुसन्धानका लागि उपस्थित गराइनेछ।

अघिल्लो विवाद पनि चर्चामा

यश दयाल यसअघि पनि विवादमा मुछिएका थिए। दुई वर्षअघि उनले आफ्नो इन्स्टाग्राममा मुस्लिमविरोधी सामग्री पोस्ट गरेपछि तीव्र आलोचना खेप्नु परेको थियो। त्यसपछि उनले उक्त पोस्ट हटाएका थिए।

घटना अहिले प्रारम्भिक अनुसन्धानको चरणमा छ, तर यसले भारतीय खेलकुद जगतमा एक पटक पुनः नैतिक जिम्मेवारी र व्यक्तिगत आचरणको प्रश्न उठाएको छ।

 

धेरै पढिएको