आईपीएल : पन्जाबलाई चेन्‍नईले १० विकेटले हरायो
News Desk
Oct-05 , 2020 तारिख 02:55 बेलुका

अस्ट्रेलियाली ब्याट्सम्यान शेन वाटसन र दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्ले सिसले समान ५३ बल खेले, समान ११ चौका प्रहार गरे ।

दुबई — आश्विन १९, २०७७। 

टिमले आफूमाथि कायम राखेको विश्वास सही साबित गर्दै शेन वाटसनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो २८ औं अर्धशतक पूरा गरेपछि चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबलाई १० विकेटले हराएको छ ।

जितनिम्ति १ सय ७९ रन पछ्याएको चेन्नईले १७.४ ओभरमा १ सय ८१ रन बनायो ।

यसअघिका चार इनिङ्समा खराब खेलेको अस्ट्रेलियाली ब्याट्सम्यान वाटसनले दबाबमा प्रभावशाली प्रदर्शन गरे । दुवैले समान बल सामना गरे । स्कोर बोर्डमा भने उनले भन्दा फाफ डु प्लेसिसले बढी रन बनाए । वाटसनले ५३ बलमा ८३ रन बनाए । उनले ११ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटमा दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डुसँग मिलेर ठोस नटआउट साझेदारी गरे र टिम कुनै पनि समय दबाबमा आएन ।

डु प्लेसिसले ८७ रन बनाए । उनको ब्याटबाट ११ चौका र एक छक्का निस्केको थियो । यो दोस्रो जितपछि चेन्नईले अन्तिम स्थान छाडेको छ । यसले कप्तान महेन्द्रसिंह धोनीमाथि सिर्जना गरेको चर्को दबाबमा राहत मिल्नेछ । यसअघि पन्जाबले टस जितेर पहिले ब्याटिङ निर्णय गरेको थियो र यसक्रममा २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

टोलीका लागि कप्तान केएल राहुलले सर्वाधिक ६३ रन बनाए । उनको ५२ बलको इनिङ्समा सात चौका र एक छक्का सामेल थियो । पन्जाबका लागि अन्त्यतिर वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पूरनले आक्रामक ३३ रन बनाए । उनले १७ बलमात्र सामना गरे । हारले पन्जाब आठ टिमसम्मिलित प्रतियोगिताको अन्तिम स्थानमा रह्यो ।

मुम्बई–हैदराबाद

यसअघि आइतबारको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले सनराइज हैदराबादलाई ३४ रनले हराएको थियो । ब्याट्सम्यानलाई सहयोग गरिरहेको पिच र छोटो बाउन्ड्रीको शारजहाँ मैदानमा पनि हैदराबाद २ सय ९ रनको लक्ष्य पछ्याउन असफल भयो ।

शारजहाँको मैदानका सुरुआती ७ इनिङ्समा २ सय रनमाथिको स्कोर खडा भए पनि आठौं अवसरमा भने हैदराबाद फिक्का साबित भयो । हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रनमात्र बनाउन सक्यो ।

मुम्बईका सबै बलरले उत्कृष्ट बलिङ गरे र त्यसअगाडि हैदराबाद कमजोर साबित भयो । मुम्बईका लागि कप्तान डेविड वार्नरले मात्र केही गतिलो खेल खेले । उनले ६० रन बनाए । यसका लागि ४४ बलको उपयोग गरेर ५ चौका र २ छक्का प्रहार गरे । जोनी बेरिस्टोले २५ र मनीष पाण्डेले ३० रन बनाए । हैदराबादले इनिङ्सको अन्त्यतिर लगातार विकेट गुमायो । कहिल्यै पनि विजय लक्ष्यको नजिक रहन सकेन ।

यसअघि मुम्बईले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले सर्वाधिक ६७ रन बनाए । उनले ३९ बलको सामना गरेर ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै इशान किसनले ३१ तथा हार्दिक पान्ड्येले २८ रन बनाएर टिमलाई दुई सय रन कटाए । हैदराबादका बलरमध्ये सन्दीप शर्मा र सिद्धार्थ कौलले समान दुई विकेट लिएका थिए । मुम्बईले ५ खेलमा तेस्रो जित निकालेको हो भने हैदराबादको ५ खेलमा तेस्रो हार हो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको