News Desk
असार २४,काठमाडौं | नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी असार २३ गते मंगलबार रातिदेखि पूर्ण रूपमा बन्द भएको छ। भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएपछि उक्त नाका ठप्प भएको हो।
पुल बग्दा नाका ठप्प
बाढीले मुख्य मितेरी पुल मात्र होइन, त्यससँगै रहेको अस्थायी पुल पनि बगाएको छ। दुबै पुलको संरचना पूर्ण रूपमा नष्ट भएपछि रसुवागढी नाकाबाट मानिस तथा सवारी साधनको आवतजावत पूर्णरूपमा रोकिएको छ।
चिनियाँ भूभागमा कन्टेनर फसे, केही डुबानमा
बाढीका कारण केरुङ क्षेत्रतर्फ २५ वटा कन्टेनर फसेका छन। तीमध्ये १० वटा कन्टेनर डुबानमा परेको व्यवसायी पुरुषोत्तम पौडेलले जानकारी दिएका छन। बाँकी १५ कन्टेनर भने केरुङ नजिकै रोकिएका छन।
चिनियाँ पक्षले संकट व्यवस्थापन गर्दै सिल भइसकेका ३० कन्टेनर पाङसिङ स्थानतर्फ सारिएको जनाएको छ। पौडेलका अनुसार वैकल्पिक व्यवस्था स्वरूप ती कन्टेनरहरूलाई तातोपानी नाका हुँदै नेपाल भित्र्याउने तयारी भइरहेको छ।
वैकल्पिक बेलिब्रिजको सम्भावना
चीनतर्फका अधिकारीहरूले रसुवागढी नाका अवलोकन गरिसकेको र आवश्यक परे बेलिब्रिज राखेर नाका पुनः सञ्चालन गरिने विकल्प पनि विचाराधीनमा रहेको छ। यदि त्यसो नभए तातोपानी नाका नै प्रयोगमा ल्याइने व्यवसायीहरूले बताएका छन।
८५ जना नागरिकको उद्धार, केरुङमा सुरक्षित
बाढीले सीमामा अवरुद्ध भएका ८५ जना नेपाली, तिब्बती र चिनियाँ नागरिकलाई चिनियाँ सुरक्षाकर्मीको पहलमा केरुङसम्म सुरक्षित रुपमा पुर्याइएको छ। उनीहरू अधिकांश व्यवसायी वा काम विशेषले चीनतर्फ गएका व्यक्ति रहेका थिए। उनीहरूलाई चिनियाँ प्रशासनले बसमार्फत उद्धार गरी केरुङमा राखिएको छ।
नेपालतर्फ ६४ सवारी बगाए, ३ चालक बेपत्ता
रसुवा भन्सार यार्डमा रहेका ६४ वटा सवारीसाधन बाढीले बगाएको पुष्टि भएको छ। तीमध्ये २३ कन्टेनर, ६ ट्रक र ३५ विद्युतीय गाडी छन। बाढीका कारण तीन चालक बेपत्ता भएका छन भने उनीहरूको खोजीकार्य जारी छ।
१९ जना बेपत्ता, ९ जनाको शव फेला
मंगलबार रातिसम्मको जानकारीअनुसार बाढीमा कम्तीमा १९ जना बेपत्ता भएका छन। त्यसमध्ये ९ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन।
शवमध्ये धादिङका ५, नुवाकोटका २, रसुवा र चितवनका १/१ जनाको शव फेला परेको छ।
५७ जनाको उद्धार, राहतमा सेना–प्रहरी सक्रिय
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समन्वय गरेर बाढीमा फसेका ५७ जनाको उद्धार गरेका छन।
उद्धार गरिएकामध्ये ३९ जनाको विवरण खुलेको छ भने बाँकीको पहिचान जारी छ।
भौतिक संरचनामा व्यापक क्षति
बाढीले नेपाल–चीनबीचको सडक सम्पर्क पूर्णरूपमा विच्छेद गराएको छ।
पासाङल्हामु राजमार्ग अन्तर्गतको धुन्चे–स्याफ्रु र स्याफ्रु–रसुवागढी खण्डको सडक चर्किएको कारण सवारी सञ्चालन रोकिएको छ।
यसैगरी, त्रिशूली नदीको बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली थ्री बी हब स्टेसन कम्पनीको विद्युत संरचनामा ठूलो क्षति पुर्याएको छ।
● सबस्टेशनको टावरहरू,
● आरआरएमको वाल,
● २२० केभी र १२५ केभी प्रणाली,
● १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको संरचना बाढीले क्षति पुर्याएको हो।
रसुवागढी नाका बन्द हुँदा न केवल दुई देशबीचको व्यापार रोकेको छ, तर दर्जनौं नागरिकको जनजीवन र सुरक्षालाई समेत संकटमा पारेको छ। सरकार र सुरक्षा निकाय सक्रिय छन् I