रूपन्देहीमा सहकारी घोटाला : १५ करोड रूपैयाँ हिनामिना, तीन सञ्चालक फरार
News Desk
Jul-12 , 2025 तारिख 12:03 बेलुका

रूपन्देही, असार २८ | रूपन्देहीको तिलोत्तमा नगरपालिका–स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा झण्डै १५ करोड रूपैयाँ हिनामिना भएको खुलासा भएको छ। सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुली रकम लिएर फरार भएपछि बचतकर्ता र शेयर सदस्यहरू आक्रोशित बनेका छन्।

तीनैजना सञ्चालकहरू सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले आलोपालो धर्ना कार्यक्रम थालेका छन्। अध्यक्ष, सचिव र व्यवस्थापकको घरघरसम्म पुगेर रकम फिर्ताको माग गर्दै आन्दोलन चर्काइएका छन्। असार १७ गते सचिव थापाले संस्थाको माइन्युट च्यातेको घटनाले थप शंका बढाएको छ।

सहकारी रजिष्टार कार्यालयमा उजुरी दिएको भए पनि समस्याको समाधान नभएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा ठगीको मुद्दा दर्ता गरेका छन्। प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार तीनै जनाविरुद्ध औपचारिक रूपमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

करीब २ हजार सदस्य रहेको सहकारीले दूध संकलन तथा बिक्री व्यवसाय गर्दै आएको थियो। यसअघि नै २५ प्रतिशत शेयर सदस्यहरूले लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा उजुरी दिएका थिए। सो उजुरीका आधारमा असार २० गतेदेखि प्रहरीको रोहबरमा लेखापरीक्षण र छानबिनको कार्य भइरहेको छ।

यो घटनाले सहकारी क्षेत्रमा विश्वास संकट निम्त्याउनुका साथै प्रदेशभरका अन्य सहकारीहरूको निगरानी आवश्यक भएको बहस चल्न थालेको छ।

धेरै पढिएको