आन्तरिक वायुसेवाले अब काठमाडौं बाहिरै जहाज राख्नुपर्ने
News Desk
Jul-22 , 2025 तारिख 11:58 बिहान

काठमाडौं  | आन्तरिक वायुसेवाले अब काठमाडौं बाहिरै जहाज राख्नुपर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २०७९ असार ५ गते गरेको निर्णयअनुसार, आन्तरिक उडान गर्ने विमान र हेलिकप्टर कम्पनीहरूले काठमाडौं बाहिर तोकिएको विमानस्थलमा जहाज राखेर रातभर विसान गर्नु पर्नेछ, र त्यसै विमानस्थलबाट पहिलो उडान गर्नुपर्नेछ। यस निर्णयलाई सर्वोच्च अदालतले समेत वैधानिक पुष्टि दिएको छ।

यो निर्णय लागू नहोस् भनी सिम्रिक एयरका सञ्चालक तथा वायुसेवा सञ्चालक संघका तत्कालीन अध्यक्ष रामेश्वर थापाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। २०७९ असार १४ मा दायर उक्त रिटमा प्राधिकरणको निर्णय खारेज गर्न माग गरिएको थियो। प्रारम्भमा सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको भए पनि अन्ततः २०८२ असार ३२ गतेको फैसलामा न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरेको हो।

सर्वोच्चको यस फैसलासँगै आन्तरिक वायुसेवा प्रदायक कम्पनीहरू चाहे ती फिक्स्ड विंग हुन् वा हेलिकप्टर सबैले अब तोकिएको आधार विमानस्थलबाटै रात्री विसान गर्नुपर्ने र बिहानको पहिलो उडान सोही स्थानबाट गर्नुपर्ने बाध्यकारी व्यवस्था पालना गर्नु पर्नेछ।

यस निर्णयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न र आन्तरिक उडानको सुव्यवस्था गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

धेरै पढिएको