मुस्ताङमा विदेशबाट आयात गरिएको हाइब्रिड जातको स्याउ खेती तीव्र रूपमा विस्तार हुँदै 
News Desk
Aug-03 , 2025 तारिख 11:12 बिहान

मुस्ताङमा हालैका वर्षहरूमा विदेशबाट आयात गरिएको हाइब्रिड जातको स्याउ खेती तीव्र रूपमा विस्तार हुँदै गएको छ। परम्परागत रूपमा स्थानीय जातको स्याउ खेती गर्दै आएका किसानहरू अहिले भने गुणस्तर र उत्पादन क्षमताका आधारमा हाइब्रिड स्याउतर्फ आकर्षित भइरहेका छन्।

मुस्ताङका पाँचै स्थानीय तहका कृषकहरूले अब स्थानीय स्याउका बोटहरूलाई विस्थापन गर्दै इटालीबाट ल्याइएका हाइब्रिड जातका स्याउका बिरुवाहरू रोप्न थालेका छन्। ती हाइब्रिड बोटहरूले छिटो फल दिने, दोब्बर उत्पादन हुने र फल आकर्षक हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत वर्षसम्म ८९० हेक्टर क्षेत्रफलमा हाइब्रिड स्याउ खेती गरिएको थियो भने यस वर्ष थप किसानहरू यस प्रविधिमा लागिपरेका छन्। यो खेतीको सुरुआत मनाङ एग्रो कम्पनीले विसं २०७५ मा उच्च घनत्व प्रविधिअन्तर्गत परीक्षणका रूपमा सुरु गरेको थियो। परीक्षण सफल भएपछि अन्य कृषकहरूले पनि त्यसबाट प्रेरणा लिएर हाइब्रिड स्याउ रोप्न थालेका हुन्।

चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङका अनुसार अहिले मुस्ताङका पाँचै पालिकामा हाइब्रिड स्याउ खेती विस्तार हुँदैछ। स्थानीय जातको स्याउ अझै पनि उत्पादनमा छ तर खाली रहेका सार्वजनिक जमिनमा भने हाइब्रिड जातका बिरुवा रोपिँदैछन्।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार, विशेषगरी गेग्रान बगर र त्यस वरपरका उचाइमा रहेका जमिनमा हाइब्रिड स्याउ खेती बढ्दो क्रममा छ। थोरै क्षेत्रफलमै धेरै बिरुवा रोप्न सकिने, छिटो फल दिने र एक बोटबाट ३० किलोसम्म स्याउ उत्पादन हुने भएकाले यो प्रविधि किसानहरूलाई आकर्षक लागिरहेको छ।

मनाङ एग्रो कम्पनीले यो वर्ष मात्रै २० हजार हाइब्रिड जातका स्याउका बिरुवा मुस्ताङ पठाएको थियो। लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाभित्र बाँझो जमिन तथा गेग्रान बगरमा यस्ता बिरुवाहरू रोपिएका छन्। नयाँ प्रविधिको प्रयोगसँगै मुस्ताङका पहाडी बगरहरूमा हरियाली फैलिँदै गएको छ।

धेरै पढिएको