भियतनामकी उपराष्ट्रपति आन्ह जुआनसँग अनरी काउन्सल र चेम्बर प्रतिनिधिको विशेष भेट
News Desk
Aug-24 , 2025 तारिख 12:58 बेलुका

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति श्रीमती भो थी आन्ह जुआन नेपाल तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार साँझ होटल सोल्टीमा नेपाली व्यावसायिक समुदायसँग भेटघाट गरिन्। उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा नेपालका भियतनाम अनरी काउन्सल राजेश काजी श्रेष्ठ, चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल–भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक कुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहित पदाधिकारीहरूले उपराष्ट्रपति आन्ह जुआनसँग द्विपक्षीय व्यापार, लगानी र निजी क्षेत्रको सहयोगबारे छलफल गरे।

व्यापारिक प्रतिनिधिहरूले भियतनामसँगको व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण र आपसी सहकार्यमा आधारित उद्योग–व्यवसाय प्रबर्द्धनका विषयमा सुझाव राखे। उपराष्ट्रपति आन्ह जुआनले नेपाल–भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन्।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा भएको यो भेटलाई व्यवसायिक सहयोगका दृष्टिले उल्लेख्य अवसरका रूपमा लिइएको छ।

यसअघि उपराष्ट्रपति आन्ह जुआन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई स्वागत गरेका थिए। उनले आगमनलगत्तै नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिइन्।

भदौ ९ गतेसम्म नेपालमा रहने उनको यस भ्रमणलाई नेपाल–भियतनाम मित्रता, आर्थिक सहकार्य र क्षेत्रीय साझेदारी सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

धेरै पढिएको