News Desk
बायर्नको ‘डबल’ धमाका
लन्डन — आश्विन २१, २०७७।
म्यानचेस्टर युनाइटेडले खेलाडी सरुवाको अन्तिम दिन सोमबार चार नयाँ अनुहार भित्र्याएको छ र त्यसा सबैभन्दा ठूलो नाम रहेका छन्, उरुग्वेली स्ट्राइकर एडिसन कभानी । युरोपेली च्याम्पियन बायर्न म्युनिक पनि धेरै पछाडि रहेन्, उसले दुई नयाँ खेलाडी अनुबन्ध गरेर टिमलाई अझ मबजुत बनाएको छ ।
अन्तिम दिनको सबैभन्दा ठूलो स्थानान्तरण रह्यो, थोमस पार्टेको । उनी एटलेटिको म्याड्रिडबाट आर्सनल गए, चार करोड ५० लाख पाउन्डमा । म्यानचेस्टरले कभानी भने विना कुनै मूल्य पाए । यस्तै उसले किनेका अन्य खेलाडी हुन्, ब्राजिली लेफ्ट ब्याक एलेक्स टेलेस, उरुग्वेली १८ वर्षीय विन्गर फकुन्डो पेलिस्ट्री र एटलान्टाका किशोर विन्गर एमाड डिलो ।
युरोपेली च्याम्पियन बायर्नले लेफ्ट ब्याक बोना सार मार्सेबाट किने भने ब्राजिली विन्गर डउगलस कोस्टा युभेन्ट्सबाट लोनमा ल्याए । आर्सनलले भने २७ वर्षीय घानाका खेलाडीको नाममा रहेको चार करोड ५० लाख पाउन्डको ‘रिलिज क्लज’ तिरेको हो । उनी आएपछि आर्सनलको मध्यपंक्ति अझ बलियो हुनेछ । आर्सनलकै उरुग्वेली मिडफिल्डर लुकास टोरेरा भने विपरित दिशामा लागेका छन्, लोनमा एट्लेटिकोतर्फ ।
प्रिमियर लिगमा टोटनहमविरुद्धको खेल आइतबार ६–१ ले गुमाएपछि म्यानचेस्टरका प्रमख कार्यकारी एड उडवार्ड दबाबमा आएका थिए र यसैक्रममा उनले व्यवस्थापक ओले गन सोल्सारलाई खर्चन दिए । गत महिना मात्र म्यानचेस्टरले आयाक्सबाट डोनी भान बिक किनेको थियो । पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ब्राजिली खेलाडी नेयमारसँग मतभदे भएपछि क्लब छाडेका कभानीले अब आफ्नो लागि ओल्ड ट्रायफोर्ड नयाँ चुनौती रहेको बताएका छन् । उनले भनेका छन्, ‘म आफ्नो खेल जीवनको किताबमा नयाँ कथा लेख्न गइरहेको छुं । म सम्पूर्ण ध्यान केवल एकै तथ्यमा मात्र हुनेछ, कडा मिहिनेत, फेरि मिहिनेत र मिहिनेत नै । मैले व्यवस्थापकसँग पनि कुरा गरिसकेको छुं । म गर्वले म्यानचेस्टरको जर्सि लगाउन चाहन्छुं ।’
सोल्सार पनि मान्छन्, उनको आगमनले टिमको आक्रमण बलियो हुनेछ । उनले भनेका छन्, ‘कभानीसँगै टिममा मजबुत शक्ति, सफल नेतृत्व र बलियो मानसिकता पनि भित्रिभएको छ । त्यो भन्दो पनि ठूलो हो, उनीसँगै अब गोल पनि निस्कनेछ । उनको अहिलेसम्मको खेल जीवन उत्कृष्ट रहेको छ । उनले जहाँ जहाँ खेलेका छन्, त्यहाँ उपाधि जितेका छन् । उनी अझै पनि माथिल्लो स्तरको फुटबलमा योगदान गर्न सक्षम छन् र उनी यसका हकदार पनि छन् ।’
प्रिमियर लिगमा शतप्रतिशत सुरुआत लिएर अंक तालिकाको शीर्ष स्थानमा रहेको एभरटनले टिममा थप एक डिफेन्डर ल्याएको छ, सेन्ट्रल ब्याक बेन गडफ्रेका रूपमा । उनी नरविचबाट कार्लो एन्सेलोटीको टिममा आएका हुन् । यसअघि उनले स्विडेनी गोलरक्षक रोबिन ओल्सेन पनि किनेको थियो, एएस रोमाबाट ।
यता बायर्नका लागि टिममा राइट ब्याक सधैं समस्या हुने गरेको थियो । यस्तोमा मार्सेबाट २८ वर्षीय सारको आगमन सम्भव भएको थियो, चार वर्षको अनुबन्धका लागि ।
बायर्नका बोर्ड सदस्य हसन सलिहमडिच भन्छन्, ‘सार निकै प्रभावशाली राइट ब्याक हुन् । उनी हाम्रो क्लबको रणनीति अनुसार पनि सुहाउँदो ठीक खेलाडी हुन् । उनले टिमलाई अझ बलियो बनाउने छ ।’ कोस्टाले तीन वर्ष अगाडि बायर्नलाई छाडेर युभेन्ट्स लागेका थिए । अब उनी आएपछि बायर्नसँगै प्रत्येक क्षेत्रको खेलाडीका लागि थप विकल्प हुने निश्चित भएका छ । च्याम्पियन्स लिग फाइनलमा बायर्नसँग हारेको पीएसजीले २७ वर्षीय ब्राजिली मिडफिल्डर रफिन्हालाई अनुबन्ध गरे ।
उनको अनुबन्ध तीन वर्षको रहेको छ र उनी बार्सिलोना छाडेर आएका हुन् । इटालीको सिरी ‘ए’ मा सबैभन्दा ठूलो अनुबन्ध रह्यो, युभेन्ट्सले फियोरेन्टिनाबाट विन्गर फेड्रिको चिसालाई अनुबन्ध गर्नु । उनका लागि युभेन्ट्सले पाँच करोड युरो तिरेको छ । यसअघि युभेन्ट्सले बार्सिलोनाबाट ब्राजिली मिडफिल्डर आर्थरलाई पनि अनुबन्ध गरेको थियो । यस्तै युभेन्ट्सले एटलेटिको म्याड्रिडबाट अल्भारो मोराटा र साल्काबाट वेस्ट म्याकेनी पनि किनेको छ ।
(एजेन्सी/कान्तिपुर दैनिक)