News Desk
लन्डन — आश्विन २१, २०७७।
इंग्लिस एन्ड वेल्स क्रिकेट बोर्डका प्रमुख कार्यकारी टम ह्यारिसनले यो सिजनको अन्तर्राष्ट्रिय क्रिकेटको प्रसारण अधिकार बेचेर ठूलो आर्थिक सहयोग मिलेको बताएका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीबीच पनि इंग्ल्यान्डमा घरमा लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । जुलाईमा इंग्ल्यान्डले जैविक सावधानी अपनाउँदै वेस्ट इन्डिजविरुद्ध तीन टेस्टको शृंखला खेलेको थियो ।
लगत्तै इंग्ल्यान्डले आयरल्यान्ड, पाकिस्तान र अस्ट्रेलियाविरुद्ध फरक फरक ढाँचाको क्रिकेट पनि खेलेको थियो । ‘यो सिजन खेलेर हामीले मैदानमा गर्विलो प्रदर्शन त गर्न सक्यौं, तर आर्थिक दृष्टिकोणबाट भविष्यलाई लिएर अझै चिन्ता भने छ,’ ह्यारिसनले मिडियासँग कुराकानी गर्दै भने, ‘स्पष्ट भन्ने हो भने प्रशारण अधिकार बेचेर आएको रकमले नै हामी आर्थिक रूपमा जोगिएका हौं ।’
उनले थपे, ‘अन्यथा निकै गाह्रो हुन सक्ने थियो । हामी बल्लतल्ल जोगिएका हौं ।’ गत महिना मात्र बोर्डले आफ्ना ६२ कर्मचारीलाई आर्थिक भार कम गर्न अवकास दिएको थियो । बोर्डका अनुसार इंग्लिस क्रिकेट बोर्ड स्वंयले पनि उत्तिकै ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ । ह्यारिसनका अनुसार बोर्डले कम्तीमा पनि १० करोड पाउन्ड आम्दानी गुमाएको छ ।
यस्तै कम्तीमा आठ सय दिनको प्रत्यक्ष प्रसारणको क्रिकेट पनि यसपल्ट सम्भव हुन सकेन् ।
ह्यारिसले भने, ‘यो गाह्रो समयलाई इंग्लिस क्रिकेटका सबै पक्षले महसुस गरिरहेका छन् । यसले धेरैका निजी जीवनमा पनि अप्ठ्यारो पारेको छ । बोर्ड आफै पनि कठिन चुनौतीबाट गुज्रिरहेको छ । अबको सिजन हामीलाई यो चुनौतीबाट मुक्त हुन अझै समय लाग्नेछ ।’
(एजेन्सी/कान्तिपुर दैनिक)