आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत आज नेपाली राष्ट्रिय टोलीले कुवेतसँग प्रतिस्पर्धा गर्दै
News Desk
Oct-08 , 2025 तारिख 05:18 बेलुका

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ ।

समूह ‘बी’मा नेपालले कुवेतसँग बुधबार र जापानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। छनोटमा नौ टोलीले प्रतिस्पर्धा गर्ने छन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।   समूह ‘ए’मा मलेसिया, कतार र यूएई छन्। यस्तै समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोअ छन्। समूहको शीर्ष दुईमा रहने टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेछ। 

ओमानमा यही खुड्किलो पार गर्दै लगातार दोस्रो पटक टीट्वेन्टी विश्वकपमा स्थान बनाउने अभियानमा नेपाल छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको शृंखलासमेत खेलेको थियो। दुई पटकको टीट्वेन्टी विश्वकप विजेता वेस्ट इन्डिजलाई २–१ ले हराउँदै नेपालले ऐतिहासिक शृंखला जितेको थियो। शृंखलाको यही उत्साहलाई छनोट प्रतियोगितामा पनि  दोहोर्‍याउने लक्ष्य बोकेर नेपाली टोली ओमान पुगेको छ ।

अहिलेसम्म १७ टोलीले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। अब तीन टोली छनोट हुन बाँकी छ।   नेपालले पहिलो पटक सन् २०१४ को टीट्वेन्टी विश्वकप खेलेको थियो। बंगलादेशमा भएको विश्वकपमार्फत डेब्यु गरेको नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गरेको थियो। सन् २०१४ पछि दोस्रो पटक विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको नेपाल यस पटक लगातार छनोट हुने अभियानमा छ।  

Related Post