मेरा पिकमा स्कीको अभ्यास
News Desk
Oct-13 , 2020 तारिख 03:31 बेलुका

ओखलढुंगा — आश्विन २७, २०७७। 

सोलुखुम्बु जिल्लाको ६ हजार मिटरभन्दा माथि उचाइको ‘मेरा पिक’मा स्की खेलको सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) ले रिफ्युजी मेरा लजको व्यवस्थापनमा मेरा पिकमा स्की खेलको सम्भाव्यता अध्ययन भएको हो ।

एकेडेमीका दुई स्की प्रशिक्षकले गत साता मेरा पिकको शिखर ६ हजार ४ सय ६७ मिटरको उचाइदेखि बेस क्याम्पसम्म स्की अभ्यास गरे । ‘सोचेभन्दा पनि धेरै राम्रो सम्भावना देख्यौं,’ स्की प्रशिक्षक छिरिङ जाङ्बु शेर्पाले भने, ‘अब यहाँ लेभल थ्री (तेस्रो तह) को स्की प्रशिक्षणलाई तयारी गरेका छौं । मेरा पिकमा शरदकालीन मौसम स्कीका लागि उपयुक्त हुने देखियो ।’

करिब तीन किलोमिटर चौडाइमा स्की गर्न सकिने स्की प्रशिक्षक छिरिङ जाङ्बु र पेम्बा ग्याल्जेङ शेर्पाले बताए । कुनै बेला मेरा पिकको क्षेत्रमा क्रिभास (हिमखाडल) हरू देखिने गरेकोमा यसपालि एकदमै राम्रो पेलेर राखेको हिउँजस्तो देखिएको उनीहरूले बताए ।

नेपालमा अग्लो हिमालमा स्कीको सम्भावना रहेको डोल्पो क्षेत्रमा रहेको पुथा हिउँचुलीलाई मानिन्छ । जुन ७ हजार २ सय ४६ मिटर उचाइको हिमाल हो । त्यसपछि मेरा पिक नै सबैभन्दा उत्तम हिमाल हुनसक्ने ५ वर्षदेखि स्की प्रशिक्षण लिने र प्रशिक्षकको काम गर्दै आएका छिरिङ जाङ्बुले बताए ।

माउन्टेन एकेडेमीले लेभल वानको स्की खेलसम्बन्धी प्रशिक्षण दोलखाको कालिञ्चोकमा सञ्चालन गर्ने गरेको छ । लेभल टु को तालिम फ्रान्स र स्विट्जरल्यान्डमा गर्ने गरिएको छ । अब लेभल थ्रीका लागि भने मेरा पिकमा गर्न आवश्यक सम्भाव्यता अध्ययन थालिएको हो । त्यसका लागि जिपिएसले मापन गर्ने, सम्भावित क्षेत्रलाई मार्किङ गर्ने काम थालिएको एकेडेमीले जनाएको छ ।

नेपालमा लेभल टु सम्मको स्की तालिम लिएका धेरै भए पनि लेभल थ्रीको तालिम लिएका थोरै संख्यामा मात्र छन् । त्यसैले लेभल टु का तालिम लिएकालाई अबको केही महिनामै मेरा पिकमा लिएर स्की खेलको अभ्यास गर्ने तयारी एकेडेमीको छ । मेरा पिक काठमाडौं पुगेर फर्किन १० देखि १२ दिनको यात्रा अवधि लाग्ने गर्छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको