आईपीएल : कमजोर देखिए अस्ट्रेलियाली खेलाडी
News Desk
Oct-14 , 2020 तारिख 03:03 बेलुका

अबुधाबी — आश्विन २८, २०७७। 

अस्ट्रेलियाको घरेलु क्रिकेट सिजन सकिसकेको छ, तर केही स्टार खेलाडी भने अझै व्यस्त छन् । राम्रो बहाना बनेको छ, यूएईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) । यूएईमा अहिले अस्ट्रेलियाली क्रिकेटका स्टार खेलाडी लगभग सबै छन्, तर तिनको प्रदर्शन मिश्रित छ । अझ भनौं, कमजोर नै ।

अहिलेसम्म ग्लेन म्याक्सवेलका लागि त प्रतियोगिता नै बिर्सनलायक छ भन्दा हुन्छ । उनले अहिलेसम्म पुछारमा रहेको किंग्स इलेभेन पन्जाबका लागि ७ इनिङ्समा ५८ रन बनाएका छन् । उनले सामना गरेको बल संख्या छ, ६१ मात्रै । सनराइजर्स हैदराबादविरुद्ध २ सय २ रनको लक्ष्य पछ्याउँदा उनले १२ बलमा ७ रनमात्रै बनाए ।

उनी क्रिजमा जाँदा टिम तीन विकेट गुमाएर ५८ रनको स्थितिमा थियो । यस्तोमा म्याक्सवेलले सुदृढ प्रदर्शन गर्न सक्थे । बरू अहिलेसम्म मार्कस स्टोइनिसको प्रदर्शन केही हदसम्म ठीकठाक छ । उनले दिल्लीका लागि आफ्नो पहिलो खेलमै २१ बलमा ५३ रन बनाएर राम्रो सुरुआत लिए ।

उनले बेंग्लोरविरुद्ध पनि अर्धशतक बनाएका छन् । उनको बलिङ पनि ठीकै देखिएको छ । अस्ट्रेलियाका लागि खेल्दा उनी माथिल्लो क्रममै आउने गर्थे । तर, अहिले उनले त्यो भूमिका पाइरहेका छन्, सायद त्यसैले गर्दा उनको प्रदर्शन सबैको अपेक्षाअनुसार हुन सकेको छैन ।

आरोन फिन्चको कथा पनि यस्तै छ । अस्ट्रेलियाली सीमित ओभरका कप्तानले पनि आफ्नो उत्कृष्ट लय समात्न सकेका छैनन्, बेंग्लोरका लागि । उनले खेलेका ६ इनिङ्समा उनको सर्वाधिक ठूलो स्कोर भनेकै मुम्बई इन्डियन्सविरुद्ध छ । त्यो हो ५२ रन । बरू उनको चर्चा फरक कारणले भने व्यापक रह्यो । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा उनी रनआउट हुनबाट बचे ।

रविचन्द्रन अश्विनले बलिङ अगाडि नै क्रिज छाडेपछि उनलाई चेतावनी दिए, तर रनआउट गरेनन् । पछि अश्विनले जहिल्यै यस्तै चेतावनी नदिने आउट पार्ने धम्की पनि दिए, जुन दिल्लीका प्रशिक्षकलाई चित्त बुझेन । संयोगले उनी पनि अस्ट्रेलियाली नै थिए, रिकी पोन्टिङ । पोन्टिङले अश्विनलाई बिर्सेर पनि त्यस्तो नगर्न भनेका छन् ।

अस्ट्रेलियाली खेलाडीमाझ सबैभन्दा बढी आस स्टिभ स्मिथसँग थियो । उनी इंग्ल्यान्डविरुद्धको सिरिजमा राम्रो खेलेर नै यूएई आएका थिए । तर उनलाई खुलेर रन बटुल्न गाह्रो भइरहेको छ । यी सबैको हुलमा सबैभन्दा राम्रो त डेविड वार्नरकै छ । फेरि एकपल्ट उनले समान रूपमा आफ्नो प्रतिष्ठाअनुसार खेलिरहेका छन् ।

पछिल्ला सात इनिङ्समा उनले खाली एकैपल्ट मात्र २८ रनभन्दा मुनिको प्रदर्शन गरेका छन् । उनलाई पनि लिएर समस्या के छ भने यसपल्ट उनको ब्याटिङ त्यति धेरै विष्फोटक रहन सकेको छैन, जुन उनको परिचय रहने गरेको छ । सायद उनी विस्तारै लयमा आउन प्रयासरत छन् । उनको प्रदर्शनको स्तर बढ्दो नै छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको