बसपार्क निर्माणका लागि बास्तोला कम्प्लेक्स हटाइयो, ३२० सटरमा डोजर
News Desk
Jun-21 तारिख 06:40 बिहान • आज

पोखरा । पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेको बास्तोला कम्प्लेक्स शनिबार पोखरा महानगरपालिकाले डोजर प्रयोग गरी हटाएको छ। बसपार्क निर्माणलाई तीव्रता दिने उद्देश्यले महानगरले कम्प्लेक्सअन्तर्गतका ३२० वटा सटरसहितका संरचना भत्काएको हो।

महानगरपालिका र जग्गाधनीबीच भएको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेकाले संरचना हटाउने कार्य सहज भएको महानगरले जनाएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार कम्प्लेक्स सञ्चालक तथा व्यवसायीहरूसँग लामो समयदेखि भइरहेको संवाद र सहकार्यका आधारमा संरचना हटाउने सहमति जुटेको हो।

उहाँले बसपार्क निर्माणलाई सफल बनाउन सबै पक्षबाट सहयोग प्राप्त भएको बताउँदै सुकुम्बासी बस्तीको हकमा भने उचित व्यवस्थापन नगरी कुनै पनि संरचना नहटाइने स्पष्ट पार्नुभयो। महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्वार क्षेत्रमा रहेका केही सटरहरू पनि हटाएको थियो।

महानगरका अनुसार खाली गरिएको बास्तोला कम्प्लेक्स रहेको जग्गा हाल व्यक्तिका नाममा दर्ता रहेको देखिएको छ। उक्त क्षेत्र विसं २०३० सालमा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले सट्टाभर्ना तथा घडेरी वितरणसम्बन्धी निर्णय गरेको पाइएको छ।

यस विषयमा सत्यतथ्य पत्ता लगाउन महानगरपालिकाले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरी छानबिन अघि बढाएको छ। समितिको प्रतिवेदन आउन बाँकी रहे पनि लालपुर्जा भएका जग्गाधनीको अवस्थाबारे अध्ययन तीव्र रूपमा भइरहेको महानगर प्रमुख आचार्यले जानकारी दिनुभयो।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क क्षेत्र पूर्ण रूपमा खाली गरिने योजना रहेको बताउँदै वास्तविक सुकुम्बासीको उचित व्यवस्थापनपछि मात्र थप संरचना हटाइने बताउनुभयो। उहाँका अनुसार बसोबासको वैकल्पिक व्यवस्था खोज्ने कामसँगै सुकुम्बासीको अवस्था र स्वामित्वबारे विस्तृत अध्ययन भइरहेको छ।

महानगरले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न गरेको जनाएको छ। बाँकी परिवारको विवरण संकलन तथा प्रमाणीकरण प्रक्रिया पनि जारी रहेको छ। केही व्यक्तिले अपूर्ण तथा गलत विवरण दिएको पाइएकाले छानबिनमा समय लागेको महानगरले जनाएको छ।

पोखरा महानगरपालिकाले बसपार्क निर्माणको दीर्घकालीन योजनाअन्तर्गत अतिक्रमित क्षेत्र खाली गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ।

धेरै पढिएको