" नेपालकै पहिलो बिसिए-विशेष राष्ट्रिय ह्याकाथन “ KMC HackVerse 2026” सफलतापूर्वक सम्पन्न
News Desk
Jun-23 तारिख 04:25 बेलुका

काठमाडौं, काठमाडौं मोडल कलेज (केएमसी), बागबजारको केएमसी टेकभर्स क्लबद्वारा आयोजित नेपालकै पहिलो बिसिए (BCA) विद्यार्थीहरूका लागि मात्र समर्पित राष्ट्रियस्तरको ह्याकाथन " HONOR Presents KMC HackVerse 2026” सफलतापूर्वक सम्पन्न भएको छ । ४८ घण्टे उक्त कार्यक्रम असार ५ देखि ७ गतेसम्म काठमाडौं मोडल कलेज परिसरमा सञ्चालन गरिएको थियो। 1 कार्यक्रमको उद्घाटन सत्रमा सहभागी विद्यार्थीहरूलाई स्वागत गर्दै ह्याकाथनको उद्देश्य नियमावली तथा मूल्याङ्कन प्रक्रियाबारे जानकारी गराइएको थियो । उद्घाटन समारोहमा प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएका कम्प्युटर एशोसिएसन नेपाल महासंघ (CAN Federation) का कार्यवाहक अध्यक्ष श्री चिरञ्जीवी अधिकारी ले प्रविधि, नवप्रवर्तन र सहकार्यको माध्यमबाट वास्तविक जीवनका समस्याहरूको समाधान खोज्न सहभागीहरूलाई प्रेरित गर्नुभएको थियो । देशभरका विभिन्न कलेजहरूबाट छनोट भएका टोलीहरूले ४८ घण्टासम्म निरन्तर रूपमा विभिन्न उप-विषयहरूमा आधारित परियोजनाहरू विकास गरेका थिए । प्रतियोगिताका दौरान सहभागीहरूलाई सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रका विज्ञ तथा उद्योगसँग आबद्ध मेंटरहरूले आवश्यक मार्गदर्शन प्रदान गरेका थिए। समापन समारोहमा सहभागी टोलीहरूले आफ्ना परियोजना तथा प्रोटोटाइपहरू विशेषज्ञ निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए। परियोजनाहरूको मूल्याङ्कन नवप्रवर्तन, प्राविधिक कार्यान्वयन, व्यवहारिकता, प्रभावकारिता तथा प्रस्तुतीकरणका आधारमा गरिएको थियो। प्रतियोगितामा Team Innovators अन्तर्गत काठमाडौं मोडल कलेजका कसम थापा मगर, सम्राट घिमिरे र अशोक चौधरी प्रथम स्थान हासिल गर्न सफल भए भने Team Mentos अन्तर्गत प्राइम कलेजका उत्सब डंगोल, संचित महर्जन, अमित राउत र बिशेष महर्जन प्रथम उपविजेता बन्न सफल भए । यस्मै Team A Solve Z अन्तर्गत न्यु समिट कलेजका अंकिता मैनाली, योगेश दाहाल र आयुष श्रेष्ठ द्वितीय उपविजेता घोषित भए । प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारका साथै विभिन्न साझेदार संस्थाहरूबाट प्रायोजित आकर्षक गिफ्ट भौचर, तालिम तथा प्रविधिसम्बन्धी विशेष सुविधाहरू प्रदान गरिएको थियो । समग्रमा पुरस्कारहरूको मूल्य एक लाख रुपैयाँभन्दा बढी रहेको आयोजकले जनाएको छ । HONOR को प्रस्तुतिमा, LeadX Nepal को प्राविधिक सहकार्य तथा Idea Studio Nepal को सहकार्यमा आयोजित उक्त कार्यक्रमलाई LED Nepal, IBSS Nepal, Singapore Beverages, Bajaj, PYCUS, Skill Lab, Code IT, Gripas Marketing, Anuron Academy, Red Bull Nepal लगायत १० भन्दा बढी संस्थाहरूले सहयोग गरेका थिए । कलेज प्रमुख सुरेन्द्र सुवेदी ले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नवप्रवर्तन, सिर्जनशीलता, नेतृत्व क्षमता तथा समस्या समाधान गर्ने दक्षताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यसैगरी आन्तरिक गुणस्मर प्रत्यायन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले नेपालकै पहिलो बिसिए - विशेष राष्ट्रिय ह्याकाथनले प्राविधिक शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । पुरस्कार तथा प्रमाणपत्र वितरणसँगै ४८ घण्टे नवप्रवर्तन, सहकार्य र प्राविधिक सिर्जनशीलताको उत्सवका रूपमा सम्पन्न भएको KMC HackVerse 2026 ले नेपालभरका बिसिए विद्यार्थीहरूलाई आफ्नो प्रतिभा, सीप र समस्या समाधान क्षमताको राष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

धेरै पढिएको