काठमाडौं उपत्यकामा बर्डफ्लुको जोखिम बढ्दो
News Desk
Jun-30 तारिख 06:45 बिहान • आज

काठमाडौं। पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गरी रोग नियन्त्रण तथा निगरानीको कार्यलाई तीव्र बनाएको छ। विभागले विभिन्न प्रयोगशालामार्फत नियमित रूपमा नमुना परीक्षण गर्दै संक्रमणको अवस्थामाथि निरन्तर निगरानी गरिरहेको जनाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा संक्रमणको जोखिम उच्च देखिएकाले ती क्षेत्रमा विशेष प्राथमिकताका साथ नियन्त्रण अभियान सञ्चालन गरिएको छ। उहाँले करिब तीन महिनाअघि देखिएको संक्रमण हालसम्म ११ जिल्लामा फैलिसकेको जानकारी दिनुभयो।

हालसम्म करिब एक सय कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ। संक्रमित फार्मका कुखुरा, अण्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ। साथै, ती फार्ममा करिब डेढ महिनासम्म नयाँ चल्ला नराख्न आग्रह गर्दै उच्च सतर्कता अपनाउन व्यवसायीलाई निर्देशन दिइएको छ। काठमाडौं उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायकलगायत क्षेत्रमा संक्रमण पुष्टि भएको छ।

बर्डफ्लुको प्रभावकारी उपचार तथा खोप उपलब्ध नभएकाले संक्रमित पन्छी नष्ट गर्नु नै संक्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको विभागले जनाएको छ। विभागका महानिर्देशक दाहालले यो भाइरस मानिसमा समेत सर्न सक्ने सम्भावना रहेकाले पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नुभयो।

संक्रमण नियन्त्रणका लागि विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्डफ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय बर्डफ्लु समन्वय समिति गठन गरिएको छ। विभागका सूचना अधिकारी मुकुल उपाध्यायका अनुसार नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा सम्बन्धित समितिले निर्धारण गर्ने दररेटअनुसार किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ।

धेरै पढिएको