News Desk
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सो अवसरमा राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । ‘वधुशिक्षा’ उनको प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् ।
भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाइएको थियो भने भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेको थियो।