News Desk
चिबा (जापान), साउन १९ । नेपाल र जापानबीचको शैक्षिक, सांस्कृतिक तथा भ्रातृत्व सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले जापानको चिबास्थित गोर्खा पिक इन्टरनेसनल स्कुल (GPIS) मा ‘एडुब्रिज नेपाल-जापान : कनेक्टिङ हार्ट्स, कल्चर एन्ड क्लासरुम्स’ शीर्षकको अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जापानका समाजसेवी तथा सफल व्यवसायी डिलाराम खरेलको अध्यक्षता र फर्सुराम खरेलको उपाध्यक्षतामा सञ्चालित गोर्खा पिक इन्टरनेसनल स्कुलले चिबा प्रिफेक्चर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकालाई गुणस्तरीय, अनुशासित र बहुसांस्कृतिक शिक्षा प्रदान गर्दै आएको छ।
विद्यालयका उप–प्रधानाध्यापक प्रकाश ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल र जापान दुवै देशको राष्ट्रिय गान बजाएर औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रममा नेपालका विभिन्न विद्यालयका प्रतिनिधिमण्डल, शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तित्व तथा अतिथि शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपालबाट सहभागी भएका अतिथि शिक्षकहरू सुजन श्रेष्ठ, बिनय श्रेष्ठ, गोविन्दबहादुर धामी, नारायण भट्टराई तथा प्रशान्त दाहाललाई विद्यालय प्रशासनले सम्मानपत्र (Certificate of Appreciation) र विद्यालयको स्मरणिका (GPIS Souvenir Cup) प्रदान गरी सम्मान गरेको थियो।
कार्यक्रममा विद्यालयका प्रशासक किशोर शाहीले संस्थाको शैक्षिक अवधारणा, बहुसांस्कृतिक शिक्षाको अभ्यास, उपलब्धि तथा भावी योजनाबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। त्यसैगरी, नेपालबाट सहभागी प्रतिनिधिहरूले दुई देशबीचको शैक्षिक आदानप्रदानलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना अनुभव, धारणा र सुझाव राखेका थिए।
यसै अवसरमा विद्यालयका लेखा शाखा प्रमुख श्याम सापकोटाले भूकम्पलगायत प्राकृतिक विपद्का समयमा विद्यालयभित्र बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने अभ्यास तथा अपनाइएका सुरक्षा प्रणालीबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमको अर्को आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक प्रस्तुति रह्यो। नेपाली र जापानी संस्कृतिको समिश्रण झल्काउने नृत्य तथा प्रस्तुतीहरूले सहभागीहरूको मन जितेका थिए।
त्यसैगरी, सहभागीहरूलाई जापानी विद्यालय शिक्षाको अनुशासित अभ्यास प्रत्यक्ष अवलोकन गराइएको थियो। विद्यार्थीहरूले आफ्नै कक्षाकोठा स्वयं सफा गर्ने ‘सोजी (Soji) प्रणाली, विद्यालय परिसरको सरसफाइ, बगैंचाको हेरचाह तथा वातावरण संरक्षणमा विद्यार्थीहरूको सक्रिय सहभागिता प्रस्तुत गरिएको थियो। यस अभ्यासले विद्यार्थीमा अनुशासन, जिम्मेवारीबोध र श्रमप्रतिको सम्मानको भावना विकास गर्ने विद्यालयको विश्वास रहेको छ।
विद्यालय प्रशासन र नेपालबाट पुगेको प्रतिनिधिमण्डलबीच भविष्यमा संयुक्त शैक्षिक कार्यक्रम सञ्चालन, प्रविधिमा आधारित भर्चुअल एक्सचेन्ज प्रोग्राम, शिक्षक क्षमता अभिवृद्धि, विद्यार्थी आदानप्रदान तथा अनुसन्धानमूलक सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा विस्तृत साझेदारी संवाद भएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै उप–प्रधानाध्यापक प्रकाश ढकालले नेपाल र जापानबीचको सम्बन्ध पारस्परिक सम्मान, अनुशासन र गुणस्तरीय शिक्षाका साझा मूल्यमा आधारित रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले दुई देशका विद्यालयबीच दीर्घकालीन सहकार्यको बलियो आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।