लय समात्दै कमिन्स
News Desk
Nov-03 , 2020 तारिख 04:25 बेलुका

अबुधाबी — कार्तिक १८, २०७७।  

प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ठीक समयमा लय समातेका छन् । यो कोलकाता नाइट राइडर्सका लागि मात्र होइन, अस्ट्रेलियाली प्रशिक्षक जस्टिन ल्याङ्गरका लागि पनि खुसीको समाचार हुनेछ ।

आईपीएल सकिएयता भारतले अस्ट्रेलियाको भ्रमण गर्दैछ । यो विश्व क्रिकेटका लागि बहुप्रतीक्षित शृंखला रहेको छ । आईपीएलमा यस सिजनलाई भएको खेलाडी लिलामीमा उनी सबैभन्दा महँगा खेलाडी साबित भएका थिए । उनलाई कोलकाताले २१ लाख डलर तिरेको थियो, तर कोलकाताले दिल्ली क्यापिटल्सको सामना गर्नु अगाडिका ७ मध्ये ६ खेलमा विकेटविहीन रहेका थिए । दिल्लीविरुद्ध उनले १७ रनमा ३ विकेट लिए । दायाँहाते तीव्र गतिका बलरले आइतबार राजस्थान रोयल्सविरुद्ध निर्णायक साबित बलिङ गरे । कोलकाता ६० रनले विजयी एकपक्षीय खेलमा उनले ३४ रनमा ४ विकेट लिए । खेलको निर्विवाद ‘म्यान अफ द म्याच’ समेत रहे उनी ।

यसक्रममा उनले आफू उत्कृष्ट लयमा फर्केको समेत साबित गरेका हुन् । पछि उनले भने, ‘सुरुमा मैले आफैले आफैमाथि चर्को दबाब सिर्जना गरें र राम्रो प्रदर्शन गर्न सकिनँ । तर प्रतियोगिता अगाडि बढ्ने क्रममा मैले आफ्नो प्रदर्शनमा सुधार ल्याएको छु र अहिले राम्रो गरिरहेको छु । यो आईपीएलको सबैभन्दा राम्रो पक्ष के हो भने यो प्रतियोगितामा कति धेरै राम्रा खेलाडी छन् भने म जस्तालाई जहिल्यै पनि केही न केही सिक्ने अवसर हुनेछ ।’

कमिन्सले राजस्थानविरुद्ध दुबईमा भएको खेलमा सुरुआती ५ बलमा १९ रन दिएका थिए, तर लगत्तै छैटौं बलमा रोबिन उथप्पालाई आउट पारे । अर्को ओभरमा उनले इंग्लिस अलराउन्डर बेन स्टोक्स र अस्ट्रेलियाली पूर्व कप्तान स्टिभ स्मिथलाई पनि आफ्नो सिकार बनाए । ‘सुरुआती पाँच बलमा १९ रन दिएपछि जो कोही बलर दबाबमा आउँछ,’ कमिन्सले भने, ‘सुरुमा मैले पक्कै राम्रो गरिनँ, तर त्यसपछि मैले उत्कृष्ट आक्रामण रचें ।’

(कान्तिपुर दैनिक)

धेरै पढिएको