News Desk
कोलकाता नाइटराइडर्स बाहिरियो
शारजहाँ — कार्तिक १९, २०७७।
सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । हैदराबादले मंगलबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित हरायो ।
हैदराबादलाई जिताएपछि अँगालोमा बाँधिएर क्रिजबाट बाहिरिँदै कप्तान डेविड वार्नर र ऋद्धिमन शाह । तस्बिर : बीसीसीआई
हैदराबादलाई प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने थियो । अन्यथा कोलकाता नाइट राइडर्सले हैदराबादलाई उछिन्थ्यो । हैदराबादले टस जितेपछि ब्याटिङमा आएको मुम्बईले ८ विकेट गुमाई १ सय ४९ रन बनायो । कप्तान डेबिड वार्नर र ऋद्धिमन शाहको अर्धशतकपछि हैदराबादले १७.१ ओभरमै लक्ष्य पार गरेको थियो ।
वार्नरले ५८ बलमा ८५ र शाहले ४५ बलमा ५८ रनको अविजित इनिङ्स खेले । वार्नरले १० चौका र १ छक्का तथा शाहले ७ चौका र १ छक्का प्रहार गरे । वार्नर आईपीएलको ६ सिजनमा ५ सयभन्दा बढी रन बनाउने पहिलो खेलाडी बने । मुम्बईले प्रमुख बलर जसप्रित बुमराह र ट्रेन्ट बोल्टसहित हार्दिक पाण्ड्येलाई आराम दिएको फाइदा वार्नर र शाहले उठाएका थिए ।
हैदराबादले अन्तिम तीन खेल जितेर प्लेअफमा स्थान पक्का गरेको हो । संयोगले यो तीन खेल प्लेअफमा पुगिसकेका मुम्बई, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध थियो । हैदराबाद लगातार पाँचौं पटक प्लेअफमा पुगेको हो । डबल राउन्ड रोबिनको खेलपछि मुम्बई १८, दिल्ली १६ तथा बेंग्लोर र हैदराबाद समान १४ अंक जोड्दै क्रमशः पहिलोदेखि चौथो स्थानमा रहे । कोलकाताको १४ अंक नै रहे पनि टोली बेंग्लोर र हैदराबादभन्दा रनरेटमा पछाडि रह्यो ।
मुम्बईले दिल्लीसँग फाइनलमा प्रवेश पाउन क्वालिफायर १ मा खेल्नेछ । बेंग्लोर र हैदराबाद इलिमिनेटरमा खेल्नेछन् । यसको विजेताले क्वालिफायर २ मा फाइनल प्रवेश पाउन मुम्बई र दिल्लीबीच पराजित हुने टोलीसँग खेल्नुपर्नेछ ।
शारजहाँ क्रिकेट मैदानमा मंगलबार सन्दीप शर्माले ३ विकेट लिँदै मुम्बईको ब्याटिङलाई अंकुश लगाएका थिए । शर्माले ओपनरद्वय कप्तान रोहित शर्मा (४) र क्विन्टन डी कक (२५) तथा इशान किशनलाई आउट गरेका थिए । आउट हुनुअघि डी ककले शर्मालाई दुई छक्का र १ चौका प्रहार गरे । म्यान अफ द म्याच शहवाज नदिमले ४ ओभरमा १९ र जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मुम्बईबाट सूर्यकुमार यादवले २९ बलमा ३६, किशनले ३० बलमा १ चौका र २ छक्कासहित ३३ तथा किइरन पोलार्डले २५ बलमा २ चौका र ४ छक्कासहित ४१ रन बनाए ।
(कान्तिपुर दैनिक)