News Desk
लन्डन — कार्तिक १९, २०७७।
बायर्न म्युनिखले पछाडि रहेको स्थिति उल्ट्याएर मंगलबार युरोपेली च्याम्पियन्स लिगमा आरबी लाइपजिगलाई ६–२ ले हराएको छ । प्रतियोगितामा बायर्नको यो लगातार कीर्तिमानी १४औं जित हो ।
यो जितपछि बायर्नले समूह ‘ए’ मा शीर्ष स्थानका लागि पाँच अंकको अग्रता लिएको छ । रोबर्ट लेवनडोस्कीले यो जितमा दुई गोल गरे ।
समूहको अर्को खेलमा लोकोमोटिभ मस्को र एटलेटिको म्याड्रिडले १–१ को बराबरी खेले । समूह ‘बी’ मा रियल म्याड्रिडले इन्टर मिलानलाई ३–२ ले हराएर प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावनालाई कायम राख्यो ।
रियलका लागि सब्स्टिच्युट राडरिगोले खेलको अन्त्यतिर निर्णायक गोल गरे । यो समूहको शीर्ष स्थानमा रहेको बोरुसिया मुन्छेनग्लाडबाख भने साख्तर डोनेस्कबाट ६–० ले पराजित रह्यो । हारका बावजुद मुन्छेनग्लाडबाख पाँच अंकसहित पहिलो स्थानमै छ । इन्टर भने दुई अंकसहित अन्तिम स्थानमा रह्यो ।
समूह ‘सी’ मा म्यानचेस्टर सिटीले फेरोन टोरेस, ग्याब्रिएल जेसस र जाओ क्यानसेलोको गोलमा ओलम्पियाकोजलाई ३–० ले हरायो । यससँगै टोली लिग चरणका सुरुआती तीनै खेल जित्न सफल रह्यो । उसको नौ अंक भएको छ । पोर्टोले छ अंकसहित दोस्रो स्थानमा रहन मार्सेलाई ३–० ले पन्छायो ।
लिभरपुलले डिएगो जोटोको उत्कृष्ट ह्याट्रिकमा समूह ‘डी’ को खेलमा एटलान्टालाई सजिलै ५–० ले हरायो । लगातार तीन जितपछि लिभरपुलले शीर्ष स्थानमा पाँच अंकको अग्रता खोलेको छ । समूहको अर्को खेलमा आयाक्सले मिटज्यल्यान्डलाई २–१ ले पराजित गर्यो ।
(कान्तिपुर दैनिक)