News Desk
म्यानचेस्टर युनाइटेड र पीएसजी पराजित
लन्डन — कार्तिक २०, २०७७।
आफ्नो उत्कृष्ट प्रदर्शनबाट टाढा रहेको बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार लगातार तेस्रो जित निकालेको छ । बार्सिलोनाले डायनामो किभलाई २–१ ले हरायो ।
त्यसमा लियोनल मेसीले पेनाल्टीबाट एक गोल गरे । जितसँगै बार्सिलोना नौ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
समूह ‘जी’ को खेलमा बार्सिलोनाका लागि जेरार्ड पिकेले पनि गोल गरे । कोभिड–१९ का कारण आफ्ना प्रमुख ६ खेलाडीबिना खेलिरहेको किभका लागि भिक्टर स्यागनकोभले एक गोल फर्काए ।
युभेन्टसले अर्को खेलमा फेरेन्कभारोसीलाई ४–१ ले हरायो र ६ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई गोल गरे ।
बुधबार सबैभन्दा खराब प्रदर्शन म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) को रह्यो । समूह ‘एच’ मा म्यानचेस्टर इस्टानबुल बासाकसेहिरको हातबाट २–१ ले पराजित भयो । यसै समूहमा आरबी लाइपजिगले पीएसजीलाई २–१ ले पन्छायो । समूह ‘ई’ मा चेल्सीले रेनेसलाई सजिलै ३–० ले हरायो र सात अंकसहित शीर्ष स्थानमा रह्यो ।
चेल्सीका लागि टिमो वार्नरले पेनाल्टीबाट दुई गोल गरे । समान सात अंकमा दोस्रोमा रहेको सेभियाले क्रासनोडारमाथि ३–२ को जित निकाल्यो ।
समूह ‘एफ’ मा बोरुसिया डर्टमन्डले क्लब ब्रुग्सलाई ३–० हरायो भने लाजियो तथा सेन्ट पिटर्सबर्गले १–१ को बराबरी खेले ।
(कान्तिपुर दैनिक)