अन्योलबीच नेपाली टिम बंगलादेशतर्फ
News Desk
Nov-05 , 2020 तारिख 03:34 बेलुका

ढाकाको बंगबन्धु रंगशालामा बालगोपाल महर्जनले अनेक ऐतिहासिक सफलता चाखेका छन् खेलाडी र प्रशिक्षक दुवै रुपमा । उनी फेरि त्यहीं फर्कंदैछन् । तर यसपल्ट उनको अस्त्र कमजोर रहेको छ ।

काठमाडौँ — कार्तिक २०, २०७७। 

अलिकति उमंग, अलिकति त्रास, तर बढी अन्योलबीच नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । नेपालले त्यहाँ दुई मैत्रीपूर्ण खेल खेल्नेछ । यो कोरोना भाइरस संक्रमणको महामारीबीच चैतमा लकडाउन लागू भएयता पूरा नेपाली खेलकुदकै पहिलो ठूलो अवसर हुनेछ पुनरागमनको ।

लामो समयसम्म मैदानबाट टाढा रहनुपर्दा नेपाली फुटबलको माग थियो, चाँडै सक्रिय रूपमा खेल्न पाउनुपर्ने । सबैलाई लागेको थियो, मैदानमा फर्कन ढिला भइसक्यो । जतिबेला साँच्चै खेल्ने बेला आयो, सबैले महसुस गरेका छन्, तयारीको गृहकार्य अझै बढी चाहिने रहेछ । बंगलादेशी फुटबल संघले नेपाललाई भ्रमणको निम्तो दिएको हो । नेतृत्वमा काजी सलाउद्दिन फेरि आएयता बंगलादेश फुटबल पनि पहिलो ठूलो खेल गतिविधिमा सहभागी हुन लागेको छ । बंगलादेशी फुटबल यसपल्ट महत्त्वाकांक्षी रूपमा अगाडि बढ्न खोजिरहेको छ । यसका लागि बंगलादेशले पहिलो रोजेको प्रतिद्वन्द्वी हो नेपाल ।

नेपालका लागि पनि यो खुसीकै उपलब्धि हो । तर, समस्या कहाँनिर रह्यो भने न टिमले राम्रो तयारी गर्न पाएको छ, न त ठोस आकार लिएको छ । नियमित प्रशिक्षक योहान कालिन समयमै नेपाल फर्कन नसकेपछि टिमको जिम्मा पाएका छन् बालगोपाल महर्जनले । ढाकाको बंगबन्धु रंगशालामा महर्जनले अनेक ऐतिहासिक सफलता चाखेका छन् खेलाडी र प्रशिक्षक दुवै रूपमा । उनी फेरि त्यहीं फर्कंदैछन् । तर यसपल्ट उनको अस्त्र कमजोर रहेको छ । यसको सबैभन्दा ठूलो कारण हो, टिमका प्रमुख खेलाडी एकपछि अर्को गुमाउनु । यसका दुई कारण छन्, पहिलो कारण केही खेलाडी कोभिड–१९ को परीक्षणमा ‘पोजिटिभ’ देखिनु र दोस्रो केही खेलाडी घाइते हुनु । अहिलेसम्म प्राप्त जानकारीअनुसार सात खेलाडी जति कोभिड–१९ बाट संक्रमित भएको पुष्टि भइसकेको छ । अनि केही खेलाडीले ढाका जानु ठीक अगाडि चोट बोकेका छन् । चोट बोक्नेमा रोहित चन्द पनि छन् । यस्तोमा बंगलादेशमा को–को जाने, को–को नजाने त्यसमै अन्योल रह्यो ।

प्रशिक्षक महर्जन स्वयंले मानेका छन्, टिममा एक प्रकारको अन्योल छ । उनले यस्तो स्थिति अहिलेसम्म खेलाडी र प्रशिक्षक दुवै भूमिकामा सामना गर्नुपरेको थिएन । संयोग त कस्तो भने उनले ढाका जाने खेलाडीको अन्तिम सूची तयार गर्न नै परिरहेको छैन, किनभने खेलाडी संक्रमित भएपछि आफैं त्यो सूचीबाट स्वाभाविक रूपमा हट्दै छन् । त्यसमाथि बंगलादेश पुगेयता कम्तीमा दुई अवसरमा खेलाडी परीक्षणबाट गुज्रिने छन्, त्यतिबेला पनि खेलाडी संक्रमित पाइयो भने ? यसको उत्तर सजिलो हुने छैन ।

प्रशिक्षक महर्जन टिमका सबै समस्या मिडियालाई बताउने पक्षमा छैनन् र कूटनीतिक उत्तर नै दिने प्रयासमा छन् । उनी भन्छन्, ‘अहिलेको विषम परिस्थितिमा फेरि फुटबल सुरु हुनु नै ठूलो हो । हामी सकारात्मक सोच लिएर बंगलादेश जाँदै छौं । अनि सकारात्मक नतिजाकै लागि खेल्ने पनि छौं ।’ उनी मान्छन्, बंगलादेशविरुद्ध दुई खेलले नेपाली टिमलाई धेरै मदत गर्नेछ । विशेषतः विश्वकप छनोटका बाँकी खेल र त्यसअगाडि हुनसक्ने सम्भावित अन्य मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि ।

प्रशिक्षक महर्जन एउटा तथ्य भने मान्न तयार छन्, कम समयमा टिमको तयारी राम्रोसँग हुन सकेको छैन, खेलाडीमा फिटनेसकै समस्या छ । यसमा उनको कूटनीतिक उत्तर छ, ढाकामा पुगेर टिमले थप एक साताको प्रशिक्षण गर्नेछ र यसबीच पनि खेलाडीको प्रदर्शन सुधार्ने पर्याप्त अवसर हुनेछ । तर महर्जनलाई के राम्रोसँग थाहा छ भने टिमका प्रमुख खेलाडी नै अहिलेसम्मको तयारीमा खुसी छैनन् र उनीहरूले अनेक गुनासो गरिरहेका छन् । केही खेलाडीले त यो परिस्थितिमा खेलको आवश्यकतालाई लिएर नै प्रश्न उठाएका छन् भने अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रकै केही प्रमुख पदाधिकारी पनि बंगलादेश भ्रमणको विरोधमा छन् । प्रशिक्षक महर्जनले भने जस्तै नेपाली फुटबललाई कुनै न कुनै मोडमा फेरि मैदानमा फर्कनु नै थियो र अहिलेको अवसरमा धेरै गुनासो गर्नुभन्दा त्यसबाट सक्दो फाइदा लिनु ठीक हो । यो तथ्य पनि हो । अर्को सत्य तथ्य के पनि हो भने ढाकामा बंगलादेशले तेर्स्याउने चुनौती सजिलो हुने छैन ।

अझ बंगलादेश नेपालविरुद्ध दुवै खेलमा हाबी हुनसक्छ । त्यसो त बंगलादेशी टिमले पनि धेरै राम्रो र लामो तयारी गर्न पाएको छैन । टिम सम्हाल्न इंग्लिस प्रशिक्षक जेमी डे बंगलादेश पुगेको भर्खर जस्तै हो । त्यहाँको मिडियाले त्यस्तै लेखेको छ । तर तिनै मिडियालाई विश्वास गर्ने हो भने टिमका प्रमुख खेलाडीले राम्रो र लामै तयारी गरेको छ । यसको कारण हो, बसुन्धरा किंग्स । स्थापनाको भर्खर ७ वर्ष टिकेको यो टिमले अधिकांश प्रमुख राष्ट्रिय बंगलादेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

अहिलेको बंगलादेशी राष्ट्रिय टिमका आधा दर्जनभन्दा बढी खेलाडी यो टिमसँग आबद्ध छन् । तिनले नियमित अभ्यास गर्न थालेको दुई महिनाभन्दा बढी भइसकेको छ । यो बंगलादेशी प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन हो । बंगलादेशको माथिल्लो डिभिजनको लिग ढाका अबहानीले ६ पटक जितेको छ, तर बसुन्धरा किंग्सले परम्परागत शक्ति क्लबलाई चुनौती दिने गरेर टिम बनाएको छ । यसको प्रभाव राष्ट्रिय टिममा पर्न थालेको छ । अहिले बंगलादेशी फुटबल फेरि महत्त्वाकांक्षी हुने प्रयासमा छ । नेपालले यसकै सामना गर्दैछ ।

बंगलादेश जाने नेपाली फुटबल टिम

प्रशिक्षक : बालगोपाल महर्जन

सहायक प्रशिक्षक : किरण श्रेष्ठ

गोलरक्षक प्रशिक्षक : विकास मल्ल

खेलाडी : अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्जप्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पूजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको