कोरोना बिर्सिएर ब्याडमिन्टनको प्रशिक्षण
News Desk
Nov-05 , 2020 तारिख 03:42 बेलुका

विराटनगर —  कार्तिक २०, २०७७। 

सहिद मैदानमा आठ महिनादेखि एक जना खेलाडी फुटबल खेल्न मैदानमा उत्रन पाएका छैनन् । तर सँगै जोडिएको कभर्डहललाई कोरोना महामारी र लकडाउनले खासै प्रभाव पारेको छैन । यो कभर्डहलमा भेट्रान र युवासहित दैनिक तीन दर्जनभन्दा बढी ब्याडमिन्टनका खेलाडी जम्मा भएर खेल्दै आएका छन् ।

सुरुआती लकडाउनको १५ दिन कभर्डहल बन्द रह्यो । त्यसयता एकदिन पनि बन्द भएको छैन । हलमा नियमित ब्याडमिन्टन खेल्दै आएका भेट्रान खेलाडी महानन्द सापकोटाले भने, ‘स्वास्थ्य सावधानी अपनाएर खेल खेल्दा अहिलेसम्म कोही पनि खेलाडीले समस्या भोग्नुपरेको छैन ।’ बरु ब्याडमिन्टन खेलले कोरोना परास्त गर्न मदत गरेको उनले सुनाए ।

एकताका विराटनगरले मुलुकलाई ब्याडमिन्टनका स्टार खेलाडी दिएको थियो । पूजा श्रेष्ठ, सुमिना श्रेष्ठ, राजु दाहाल र विशाल प्रधान विराटनगरका उत्पादन हुन । उनीहरूले दशकसम्म मुलुकको ब्याडमिन्टनलाई आफ्नो वरपर घुमाए । सापकोटाले भने, ‘त्यही कारण विराटनगरमा ब्याडमिन्टनको क्रेज अझै छ ।’

१३ औं दक्षिण एसियाली खेलकुदमा महिला डबल्समा कांस्य जितेका सीमा राजवंशी र नीता लम्साल विराटनगरकै उत्पादन हुन् । अहिले पुरुषतर्फका उदीयमान खेलाडी रोज पाण्डे पनि यहींका हुन् । सेवानिवृत्त प्रशिक्षक तथा भेट्रान खेलाडी उत्तम सिम्खडाले भने, ‘यो कभर्डहलमा १० वर्षका किशोरकिशोरीदेखि ६० सम्मका भेट्रान खेलाडी नियमित खेल्दै आएका छन् ।’ कभर्डहलमा तीनवटा ब्याडमिन्टन कोर्ट छन् । त्यहाँ खेल्न पालो पाउनै मुस्किल पर्छ । पहिला भेट्रान खेलाडी हलमा पुग्छन् । उनीहरू थाक्दै गएपछि पछि पुग्नेले खेल्ने मौका पाउँछ । कभर्डहलमा हरेक दिन बिहान ६ देखि १० बजेसम्म किशोरकिशोरी र भेट्रान खेलाडी रम्दै आएका छन् ।

प्रदेश १ का कुनै पनि जिल्लामा यतिबेला ब्याडमिन्टनका प्रशिक्षक छैनन् । तर मोरङमा भने सेवानिवृत्त सिम्खडाले किशोरकिशोरीलाई प्रशिक्षण दिँदै आएका छन् । ‘सेवानिवृत्त भए पनि किन त्यत्तिकै बस्नु भनेर हलमा आउने युवालाई नियमित प्रशिक्षण दिँदै आएको छु,’ उनले भने, ‘यसले गर्दा आफू पनि स्वस्थ रहेर प्रशिक्षण लिन चाहनेलाई सुझाव पनि दिँदै आएको छु ।’ ‘विराटनगरमा ब्याडमिन्टन खेललाई कोरोना महामारीले रोकेको छैन,’ अर्का भेट्रान खेलाडी किरणसिंह बस्नेतले भने, ‘यहाँका किशोर र भेट्रान सबै खेलाडी कोरोनालाई बिर्सिएर नियमित प्रशिक्षणमा जुट्दै आएका छन् । यहाँ नियमित खेल्ने कुनै पनि खेलाडीलाई कोरोनाका कारण स्वास्थ्य समस्या आइपरेको छैन ।’ उनले नियमित अभ्यास र एक्सरसाइजको कमाल हुनसक्ने अनुमान लगाए ।

खेल्नेमात्र नभई कभर्डहलमा हुने सबै खर्च भेट्रान खेलाडीले बेहोर्दै आएका छन् । हलभित्रका तीनवटा कोर्टका नेट भेट्रान खेलाडीले जुटाएका हुन् । हलमा जडान गरिएको विद्युतको महसुल, सरसफाई र विद्युत बल्भ खेलाडी आफैंले व्यवस्था गरेका छन् । बस्नेतले सुनाए, ‘त्यसबाहेक जुनियर खेलाडीलाई खेल्नका लागि कर्क र र्‍याकेटसमेत भेट्रान खेलाडीले उपलब्ध गराउँदै आएका छन् ।’

(कान्तिपुर दैनिक)

धेरै पढिएको