‘माफी गर्न नसकिने गोल’
News Desk
Nov-06 , 2020 तारिख 04:00 बेलुका

लन्डन — कार्तिक २१, २०७७। 

युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर युनाइटेड टर्कीको च्याम्पियन क्लब इस्तानबुल बसाकसेहिरसँग पराजित हुन पुग्यो । उक्त खेलको पहिलो गोललाई यसरी व्याख्या गरिएको छ कि मानौं, यस्तो अवसर यसअघि कहिल्यै देखिएको थिएन ।

यसको कारण पनि खराब नै रहेको छ । डेम्बा बा इंग्लिस प्रिमियर लिगका ३५ वर्षीय पूर्व खेलाडी हुन् । उनलाई पनि विश्वास थिएन होला, आफ्नो भाग्यमा । भएको के भन्दा उनलाई विना कुनै रोकावट इस्तानबुल बसाकसेहिरका लागि गोल गर्ने अवसर दिइयो, म्यानचेस्टर युनाइटेडविरुद्ध । संयोगले यो उनको खेलजीवनका पहिलो युरोपेली च्याम्पियन्स लिग गोल पनि रह्यो ।

टर्कीको च्याम्पियन क्लबका लागि एडिन भिस्काले दोस्रो गोल गरे । म्यानचेस्टरको तर्फबाट एन्थोनी मार्टियलले एक गोल त फर्काए, तर त्यसको धेरै ठूलो अर्थ रहेन । यो २–१ हारमा जहाँ म्यानचेस्टरलाई पछुतो हुनेछ, त्यहीं बसाकसेहिर प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्न सफल रह्यो । तर सबैले चर्चा गरिरहेको भनेको डेम्बाको पहिलो गोल हो । यो नतिजा कस्तो रह्योभन्दा यसले म्यानचेस्टर व्यवस्थापक ओले गनर सोल्सायरमाथि चर्को दबाब सिर्जना भएको छ ।

सोल्सायर आफैं भन्छन्, यो गोलका लागि म्यानचेस्टरलाई माफी दिन सकिन्न । ‘हामीले छोटो कर्नर खेल्ने प्रयास गर्‍यौं, तर विपक्षी टिमका खेलाडी अगाडि छ भनेर बिर्सियौं,’ उनले भने । यो गोल वास्तवमै कस्तो रह्यो, यसको चर्चा आवश्यक नै छ । म्यानचेस्टरले कर्नर पाएको थियो । यसमा छोटो प्रहार गरियो । यसले गर्दा बललाई बसाकसेहिरको बक्ससम्म पुग्न समय लाग्यो । यसबीच म्यानचेस्टरले बलमाथि नियन्त्रण गुमायो र यसमा भिस्काले लामो पास निकाले । त्यो पनि आफ्नै पेनाल्टी एरियाबाट ।

यतिबेला म्याचनेस्टरका सबै डिफेन्डर आफ्नो भूमिका बिर्सेर बसाकसेहिरको आधा भागमै थिए । म्यानचेस्टरको आधा भागमा भने गोलरक्षक डिन हेन्डरसनमात्रै थिए । यसमै डेम्बाले गोल गरे । पछि म्यानचेस्टरका पूर्व खेलाडी डिन डब्लिनले भने, ‘म्यानचेस्टरका लागि यो जत्तिको लज्जा लाग्ने गोल अरू हुनसक्ने छैन । यो गोलले देखाउँछ, टिम कति फितलो छ, टिमको सही नेतृत्व गर्नेको कति कमी छ ।’

(कान्तिपुर दैनिक)

धेरै पढिएको