राणा एनओसीका मानार्थ अध्यक्ष
News Desk
Nov-13 , 2020 तारिख 04:14 बेलुका

काठमाडौँ — कार्तिक २८, २०७७। 

नेपाल ओलम्पिक कमिटीको बिहीबार ११ औं साधारणसभा बसेको छ । यो कोभिड–१९ को महामारीबीच ‘भर्चुअल’ सञ्चालन भएको थियो । असाधारण अवस्थाबीच साधारणसभा भयो ।

तर यसको सबैभन्दा ठूलो विशेषता रह्यो, ओलम्पिक कमिटीको मानार्थ अध्यक्षका रूपमा रुक्मशमशेर राणा प्रस्तुत हुनु । अर्का पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान पनि कार्यक्रममा मानार्थ अध्यक्षकै रूपमा सहभागी भए ।

तर राणाको उपस्थिति र उद्घाटन कार्यक्रममा सम्बोधन नै गर्नु विशेष रह्यो । अन्तर्राष्ट्रिय र अदालती मान्यताप्राप्त दुई सामानान्तर ओलम्पिक कमिटीको पछिल्लो विवादमा उनी नै केन्द्रीय पात्र थिए ।

लामो समयदेखि उनले नेपाल ओलम्पिक कमिटी आफ्नै नेतृत्वमा रहेको दाबी गर्दै आएका थिए । तर यो साधारणसभामा उनको उपस्थितिले विवाद लगभग समाप्त भएको र जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको ओलम्पिक कमिटीलाई नै मान्यता दिएको निश्चित भएको छ ।

कार्यक्रममा बोल्दै राणाले नेपाली खेलकुदका अभिलेख राख्नुपर्ने र यसको संरक्षण समेत गर्नुपर्नेमा जोड दिएका थिए । केही महिनाअगाडि मात्र ओलम्पिक कमिटीको बैठकले राणा र प्रधानलगायतलाई मानार्थ अध्यक्षबाट सम्मान गर्ने निर्णय गरेको थियो ।

यस आशयको पत्र प्राप्त भएपछि राणाले ओलम्पिक कमिटीलाई धन्यवाद पनि दिएका थिए । उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सरकारी निर्देशन पालना गर्दै खेल कार्यक्रम सुरु गर्ने जानकारी गराए ।

अध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको बन्द सत्रले महासचिव नीलेन्द्रराज श्रेष्ठले कमिटीको सन् २०१९–२० को गतिविधिको प्रतिवेदन पेस गरे । उनले प्रस्तुत गरेको आर्थिक र कर्मचारी नियमावली पनि सर्वसम्मतबाट पारित भएको थियो । कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यका अनुसार दुई नियमावली पारित भएपछि अब सुचारु रूपमा काम गर्न अझ सजिलो र पारदर्शी हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले लामो समयदेखि यी दुई नियमावली पारित गर्न दबाब दिँदै आएको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको