News Desk
सिड्नी — मंसिर ११, २०७७। एजेन्सी
अस्ट्रेलियाका स्टिभ स्मिथले भारतविरुद्धको एकदिवसीय शृंखलाअगाडि आफू लयमा आइसकेको बुधबार बताएका छन् । उनले आफू टेस्ट क्रिकेटको शीर्ष ब्याट्सम्यान भएको सिद्ध गर्न तयार रहेको पनि बताए ।
उनले इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सका लागि आफ्नो प्रदर्शनप्रति भने निराशा पोखे । उनी मान्छन्, त्यस प्रतियोगितामा आफूले लय समात्न सकिएन ।
तर भारतविरुद्धको शृंखलाअगाडि आफू लयमा फर्किसकेको मान्छन् उनी । अस्ट्रेलिया र भारतबीचको पहिलो एकदिवसीय शुक्रबार सिड्नीमा सुरु हुँदै छ । स्मिथले भने, ‘पछिल्ला केही दिनयता मैले आफ्नो ब्याटिङ समस्याको समाधान गरेको छु । त्यसैले म भारतविरुद्धको शृंखलालाई निकै उत्साही छु ।’
उनले यसका लागि आफूले तीन चार महिनादेखि प्रयास गरिरहेको तर अहिलेमात्र समस्या समाधान भएको बताए । मध्यक्रमका ३१ वर्षीय ब्याट्सम्यानले अहिले आफ्नो स्थिति हेर्दा अनुहारमा खुसी फर्केको सुनाए । उनले थपे, ‘म पक्कै पनि राम्रो महसुस गरिरहेको छु । पछिल्लो समय मेरो प्रदर्शन किन राम्रो हुन सकेन, त्यो म बयान गर्न सक्दिनँ ।’ उनले थपे, ‘खेलाडीमा यस्तो समस्या हुन्छ । तर अहिले म निकै आत्मविश्वासी भएको छु । इन्डियन प्रिमियर लिगमा मैले केही शक्तिशाली खेलका लागि प्रयास गरें र सफल भइनँ । त्यो मेरो खेलको स्वभाव पनि थिएन । धेरै छक्का प्रहार गर्ने प्रयासमा मेरो खेल बिग्रेको हुनसक्छ, खासमा मेरो खेल भनेको सही क्रिकेट शट प्रहार गर्नु नै हो ।’
सन् २०१८ मा बल टेम्परिङ काण्डमा फसेपछि अस्ट्रेलियाली टिमको नेतृत्व गुमाएका स्मिथले आफू कप्तानीमा फर्कन इच्छुक रहेको बताए । उनले तत्काल आफ्नो काम टेस्टमा टिम पेन र सीमित ओभरको क्रिकेटमा आरोन फिन्चलाई सहयोग गर्नु नै रहेको पनि बताए ।
‘अहिले तत्काल मैले यसबारे धेरै सोचेको छैन,’ उनले भने । तर उनले भविष्यका सबै सम्भावनालाई लिएर भने आफू खुला रहेको बताए । भारतले अस्ट्रेलिया भ्रमणका क्रममा तीन एकदिसीय, तीन ट्वान्टी–२० र चार टेस्ट खेल्दैछ । विश्व क्रिकेटका दुई शक्तिशाली टिमबीचको यो शृंखलालाई बहुप्रतीक्षित मानिएको छ ।
(कान्तिपुर दैनिक)